• Saturday 25th of July 2026

मिटर ब्याजी साह पक्राउ


  • गोकर्णेश्वर अनलाइन

महोत्तरी प्रहरीले पक्राउ गरेको मिटर ब्याजी अनुरुद साहलाई ससुराली घरबाट ७१ लाख बढीको कपाली तमसुक बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार साहले १३ व्यक्तिसँग मिटर ब्याज चलाएर रु २० लाख ३३ हजार ठगी गरेको व्यहोराको उजुरी विगत डेढ वर्षदेखि जिल्ला प्रशासनमार्फत प्राप्त भई फरार रहेको मुद्दामा शनिबार पक्राउ परेको हो । उनको ससुराली घरबाट रु ७१ लाख ४४ हजार तीन सय ५० को नौ थान कपाली तमसुक बरामद भएको हो ।

महोत्तरी, धनुषासहित पूर्वको झापा जिल्लासम्मका मानिससँग मिटर ब्याजको कपाली तमसुक गराएको नौ थान कपाली तमसुक प्रहरीले साह बस्दै आएको धनुषा जनकपुर उपमहानगरपालिका–७ ससुराली घरबाट बरामद गरेको हो ।

अनुरुदले रु ५० हजारदेखि नौ लाखसम्मको कागज बनाएको, कतिको १२ गुणा बढीको कागज बनाएको र कतिलाई ब्याजको रकम माफ गरिदिन यौन प्रस्ताव गरेको तथा दर्जनौँ बढी व्यक्तिको थात थलो हडपेको भनेर जिल्ला प्रशासन कार्यालयमा १४ जनाको उजुरी रहेको छ ।

निज साह उपर २०७७ माघ २९ गते महोत्तरी जिल्ला अदालतमा १४ जनाले रु ४२ लाख ९२ हजार एक सय ९० बिगो दाबीसहित ठगी तथा आर्थिक शोषण मुद्दा दिएकोमा उनलाई अदालतले एक लाख ५० हजार धरौटी राखी तारेखमा छाडेको छ भने सो मुद्दा अझै पनि अदालतमा विचाराधीन छ ।

मिटर ब्याजी अनुरुदलाई प्रहरीले करिब डेढ वर्षको प्रयासपछि शनिबार निजको आफ्नै गाउँमा भंगहा नगरपालिका–५ बाट पक्राउ गरेको थियो भने निजलाई महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाएको हो ।

अनुरुदसँग आर्थिक शोषण तथा ठगीमा परेका थप व्यक्तिसँग उजुरी लिने क्रम पनि भइरहेको प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology