• Saturday 25th of July 2026

कैदी भागेको घटनामा छानविन समिति गठन


  • गोकर्णेश्वर अनलाइन

नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु कारागार ललितपुरमा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएको घटनाका सम्बन्धमा छानविन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका रामेछापको पिल्पुङ गाउँपालिका–२ घर भई हाल नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु कारागारमा रहेका ३१ वर्षका भोला बुढाथोकीलाई उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएकामा बुधबार सोही अस्पतालबाट फरार भएका थिए । उनी विसं २०७२ देखि २० वर्षको कैद सजाय भुक्तान गरिरहेका थिए ।

उक्त घटनापछि नेपाल प्रहरी अनाश्रित गुल्म नख्खुका प्रमुखलाई जिम्मेवारीबाट हटाई कैदीबन्दीको सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीलाई पनि निलम्बन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक राठौरका अनुसार फरार रहेका बुढाथोकीलाई खोजतलासका क्रममा ललितपुरबाट खटिएको प्रहरी टोलीले महालक्ष्मी नगरपालिकाको लुभु बसपार्क नजिकबाट हत्कडीसहित पक्राउ गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology