• Saturday 25th of July 2026

मकवानपुरमा पनि मिटरब्याजीविरुद्ध प्रशासनमा ११ उजुरी


  • गोकर्णेश्वर अनलाइन

मकवानपुरमा चर्को ब्याज लिएर दुःख दिएको विरुद्धमा ११ जनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दिएका छन् । साथै यो उजुरीको क्रम बढ्ने अनुमान रहेको छ ।

सरकारले गृह मन्त्रालयका सहसचिव डा भीष्मकुमार भुसाललाई संयोजक बनाएर चर्को ब्याज लिनेविरुद्ध अभियान नै सञ्चालन गरेपछि मकवानपुरमा पनि चर्को ब्याजबाट पीडित हुनेले जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएको सो कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकरी दिनुभयो ।

मिटरब्याजीबाट दुःख पाएकाहरूका बारेमा अध्ययन गर्न सरकारले कार्यदल नै बनाएर देशभरिका ७७ जिल्ला प्रशासन कार्यालयमा पीडितलाई निर्धक्क भएर उजुरी दिन आग्रह गरेपछि मकवानपुरमा पनि हालसम्म ११ जनाले उजुरी दिएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन आएको उजुरीका सम्बन्धमा प्रजिअले सम्बन्धित पक्षलाई झिकाएर नियमसङ्गत लेनदेन भएको भए आपसी सहमतिमा उजुरी छिनोफानो गर्न निर्देशन दिइएको छ । सहमति हुन नसकेको खण्डमा उजुरीका सम्बन्धमा कानुनी प्रक्रिया सुरु गर्न प्रहरी कार्यालयमा पठाउन भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयलाई दिइएको निर्देशनमा स्थानीय निकाय तथा जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकार नपर्ने उजुरीको सम्बन्धमा गृह मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिइएको बताइएको छ ।

मिटरब्याजीको समेत आम्दानीको आर्थिक स्रोत, जायजेथा तथा सम्पत्तिको स्पष्टता र अनुसन्धान गरी ठूला कारोबारको सम्बन्धमा विशेष छानविन गर्न गृह मन्त्रालयबाट भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology