• Saturday 25th of July 2026

पशुपतिनाथको पूर्वी मूलढोका १५ वर्षपछि भक्तजनका लागि खोल्ने तयारी


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ, १३ भदौ (रासस) : पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउन पूर्वी ढोका पनि खोल्ने भएको छ ।

पशुपतिनाथको पूर्वी ढोका विसं २०६५ पछि पहिलोपटक खुला गर्न लागिएको हो । पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द गरिएको थियो । यस वर्ष कोटेश्वर–तीनकुने –सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ । यस क्षेत्रमा जुत्ता चप्पल सुरक्षित राखेर स्वयंसेवा गर्ने जिम्मेवारी जयबागेश्वरी टोल सुधार समितिले पाएको छ ।

तीजमा दर्शन गर्ने भक्तजनका लागि यो सहित चार वटा लामको व्यवस्था गरिएको छ । दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको छ । यहाँ पशुपति सृजनशील युवा क्लबले जुत्ता चप्पल सुरक्षित राखेर भक्तजनलाई सहयोग गर्ने जिम्मेवारी लिएको छ ।

तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघरअघिको भाग राखिने छ । यस स्थानको जुत्ता चप्पल व्यवस्थापनको जिम्मेवारी अमर नवकान्तेश्वर युवा क्लबले लिएको छ ।

चौथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिनेछ । यहाँ भक्तजनको जुत्ता चप्पल सुरक्षित राखिदिने जिम्मेवारी नवरथ स्काउट ग्रुपले लिएको छ । लामपिच्छे नै स्वयंसेवक परिचालन हुनेछन् ।

मूल मन्दिरभित्र भने सुरक्षाकर्मी र स्वयंसेवक दुवै महिला नै परिचालन गर्ने कोषको तयारी छ । कैलाश दक्षिणबाट रुद्रगाडेश्वर, पञ्चदेवलबाट चार शिवालयसम्म डोरी तानेर व्यवस्थित गरिएको छ ।

मूल मन्दिरमा तस्बिर खिचेमा रु दुई हजार १०० जरिवाना

हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि नै तस्बिर खिच्न मनाही गरिँदै आएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल फोन हुने भएकाले चलाएजसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो ।

सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो । गर्भगृहको तस्बिर खिचेमा रु दुई हजार १००, मुख्य मन्दिरको तस्बिर खिचेमा रु एक हजार १०० र मूल मन्दिर परिसरको तस्बिर खिचेमा रु ५०० जरिवाना गर्न लागिएको हो । पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गर्न लागेको जानकारीसमेत उहाँले दिनुभयो ।

कोषले तीजका दिन यही भदौ १४ गते बिहान छ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ ।

दर्शनार्थी बिरामी हुन सक्ने भएकाले मूल मन्दिर क्षेत्रमै नेपाली सेनाले स्वास्थ्य शिविर राख्ने भएको छ । पशुपति क्षेत्रको सुरक्षाका लागि सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयोजनमा गर्ने गरी व्यवस्था मिलाइएको छ ।

पशुपति क्षेत्रबाट १४ जर्किन रक्सी बरामद

तीजको पूर्वसन्ध्यामा पशुपति क्षेत्रका पसल अनुगमन गरी १४ जर्किन रक्सी बरामद गरिएको छ । प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक सञ्जीवबहादुर खड्काको नेतृत्वमा अनुगमन गरी स्थानीयरूपमा बनाइएका १४ जर्किन रक्सी बरामद गरिएको कोषले जनाएको छ । जयबागेश्वरी ओरालोबाट भुवनेश्वरी मन्दिर जाने बाटोका केही पसलबाट रक्सी बरामद गरिएको हो ।

पर्वका अवसरमा मदिरापान गरी शान्ति सुरक्षामा प्रभाव पार्न सक्ने भएकाले आज अनुगमन गरिएको कोषले जनाएको छ । कोषले पशुपति क्षेत्रमा तीजको सबै तयारी गरेको छ । मूल मन्दिरअघि फूलले सिँगारिने भएको छ ।

तस्बिर: रवि कुमार बरुवाल

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology