• Saturday 25th of July 2026

कारोबार घटेपछि कैलालीका सुनचाँदी व्यवसायी सङ्कटमा


  • गोकर्णेश्वर अनलाइन

सुनचाँदीको कारोबार घटेपछि कैलालीका सुनचाँदी व्यवसायी सङ्कटमा परेका छन् । कारोबारका लागि सुन पाउन समस्या भएपछि यतिखेर कैलालीका सुनचाँदी व्यवसायी पुराना गहनाले धानिएका छन् । कैलालीका सुनचाँदी व्यवसायीले बिक्रीका लागि नयाँ सुन पाउन नसकेपछि पुराना गहना खरिदबिक्री र मर्मत गरेर व्यवसाय धानेका हुन् ।

कोरोना महामारीपछि यहाँका व्यवसायीलाई सुन पाउन सहज छैन । “कोरोनाअघि सुदूरपश्चिममा महिनामा पाँच किलो सुन भाग प¥थ्यो । आजभोलि दुई महिनामा एक किलो पाउन पनि मुस्किल हुन्छ”, सुनचाँदी व्यवसायी सङ्घ टीकापुरका अध्यक्ष देवबहादुर सुनारले भन्नुभयो, “अनि कहाँबाट कारोबार बढाउनु ? कारोबार बढे पो सुनचाँदी व्यवसायी फस्टाउँछन् । कारोबार नहुँदा कैलालीका सुन व्यवसायी सङ्कटमा छौँ ।”

उहाँका अनुसार यस वर्ष तीज पर्वमा पनि सुनचाँदी व्यवसायीको व्यापार भएन । विगतमा टीकापुरमा मात्रै तीजमा दैनिक रु ५० लाख बढी कारोबार हुन्थ्यो । उहाँले भन्नुभयो, “यस वर्ष एक तोला सुन बेच्न र किन्न पाउने व्यवसायी पनि खुसी हुनुपर्ने अवस्था छ । यसवर्ष किन्न चाहनेलाई पनि सुन दिन सकिएको छैन ।”

सुनार कैलालीका व्यवसायी पुराना गहना खरिदबिक्री र मर्मत गरेर व्यवसाय धानिरहेको बताउनुहुन्छ । “नयाँ सुन पाउन समस्या छ । हामी पुराना गहना किनबेचबाट मजदुर पाल्न र घरभाडा तिरेर गुजारा गरिरहेका छौँ”, उहाँले थप्नुभयो, ‘‘कैलालीको टीकापुरमा रहेका ५० पसलमा चार सय कामदार छन् । कैलालीभरि एक हजार बढी कामदारको रोजगारीसमेत सङ्कटमा छ ।”

कैलालीमा केही कामदार मासिक तलबमा काम गर्छन् भने केही कामदार ज्यालादारीमा काम गर्छन् । ज्यालादारीमा काम गर्दा कमाइ बढी हुने र इच्छाअनुसार काम गर्न पाइने कामदार आजभोलि काम नपाउँदा थप समस्यामा छन् । सिर्जना सुनचाँदी पसलका सञ्चालक रुपलाल सुनार पनि पुराना गहना मर्मत गरेर व्यवसाय धानिएको बताउनुहुन्छ ।

“यस वर्ष झनै कारोबार ठप्प छ । हामीले सुन किन्न समेत पाइरहेका छैनौँ”, उहाँले भन्नुभयो, “माग आए पनि पूर्ति गर्न सकिएको छैन । रकम पठाउँदा पनि सुन पाउन सकिएको छैन । यस्तै रहे हामी पेसाबाट पलायन हुने निश्चित छ ।” विगतमा चाडपर्व तथा तीजमा दैनिक १८ घण्टा बढी काम गरेर थप रकम कमाउने कैलालीका मजदुरले यस वर्ष कामै पाएनन् । काम नपाएपछि उनीहरुको रोजीरोटीसमेत सङ्कटमा परेको छ ।

“तीजमा विगतका वर्ष महिनामै रु ५० हजारसम्म कमाइ हुन्थ्यो”, मजदुर सङ्केत सोव भन्नुहुन्छ, “यस वर्ष महिनाभरि रु १२ हजार मात्र कमाइ भयो ।” विगतमा मासिक रु ४० हजारसम्म कमाउने तारा सोव पनि आजभोलि मुस्किलले रु १५ हजारसम्म कमाइ हुने गरेको बताउनुहुन्छ । “आजभोलि कमाइ छैन, पुराना टुटेफुटेका गहना मर्मत गर्ने, सफा गर्ने, सामान्य तिलहरी, मङ्गलसुत्र बनाउने जस्ता काम मात्र पाइन्छन्”, उहाँ भन्नुहुन्छ, ‘‘काम घटेपछि आजभोलि कमाइ पनि घटेको छ ।” व्यवसायीहरूले करोडौँ ऋण रहेकाले सरकारले व्यवसाय गर्न सहज वातावरण बनाउनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology