• Saturday 25th of July 2026

बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पण गर्छु : अध्यक्ष दाहाल


  • गोकर्णेश्वर अनलाइन

नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै अबको बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने बताउनुभएको छ ।

बागमती प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा आज काठमाडौँमा भएको ‘युवा उद्यमशीलता सम्मेलन’को उद्घाटन गर्दै अध्यक्ष दाहालले मुलुकको स्थायित्व, विकास र समृद्धिको वातावरण तयार पारे विदेशिएका युवा आफैँ फर्किएर आउने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले लामो सङ्घर्षका साथ राजनीतिक परिवर्तनमा होमिँदै जीवनको उत्तरार्धतिर आइसकेकाले स्मरण गर्दै भन्नुभयो, “अब बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पण गर्ने मेरो अठोट हो, उद्योगमैत्री ऐन कानुन, बनाउने, विदेशमा रहेका युवाका आर्जित सीप र पुँजीलाई नेपालमा लगानी गर्नसक्ने बनाउने सोच छ ।”

अध्यक्ष दाहालले आजको स्थिति हेर्दा १० वर्षमा मुलुकलाई विकासको गतिमा अघि बढाउन सम्भव छ भन्नुभयो । त्यसकाल लागि युवाको जागरुकता आवश्यक भएको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले थप्नुभयो, “हाम्रो भरोसा तपाईं युवा नै हो, तपाईहरू भविश्य होइन वर्तमान हो, अठोट गर्नुभयो भने देशलाई नयाँ र आर्थिकरूपले गतिशिल बनाउन सक्नुहुन्छ ।”

नेपाललाई आत्मनिर्भर अर्थतन्त्रका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना भएको पनि उहाँले बताउनुभयो । उहाँले प्राकृतिक स्रोतसाधनको प्रचुर सम्भावना रहेको तर राजनीतिक वातावरण र उनीहरूको दृढ इच्छाशक्ति, सही भिजन, योजना र कार्यक्रमको अभाव रहेको बताउनुभयो ।

भौगोलिक अवस्थाका आधारमा नेपालमा डिजिटल पूर्वाधार विकासको सम्भावना अधिक रहेकाले उक्त अवसर र सम्भावना नगुमाउन युवालाई आह्वान गर्नुभयो । उहाँले अहिले पनि सबैभन्दा विकास गर्न सकिने महत्वपूर्ण क्षेत्र भनेको कृषि नै भएको बताउँदै कृषिमा आत्मनिर्भर र कृषिमा आधारित उद्योग स्थापनाको आवश्यकता औँल्याउनुभयो ।

अध्यक्ष दाहालले विगतमा खाद्यान्नमा निर्यात गर्ने हाम्रो मुलुक आर्थिक स्थितिमा पछाडि जानु चुनौतीपूर्ण अवस्था हो भन्नुभयो । उहाँले जलविद्युत्, पर्यटन तथा जडीबुटी र खनिजको विकास गर्ने कुरा हुँदाहुँदै पनि कृषिमा आधारित उद्योग दीगो र दीर्घकालीन हुने बताउनुभयो ।

दुई नम्बरी धन्दाबाट सम्पत्ति कमाउने प्रवृत्ति समाजमा रहने र त्यो प्रवृत्ति हावी हुने खतरा रहेको जिकिर गर्दै अध्यक्ष दाहालले सम्पत्ति कसरी कमाउने र कसरी खर्च गर्ने कुरा महत्वको नभएको तर समाजलाई कसरी अघि बढाउने भन्ने कुरा महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले युवालाई कुनै उद्योग स्थापना गरेर छिट्टै पैसा कमाउने सपना नदेख्न आग्रह गर्नुभयो । पैसा कमाउनका लागि धैर्यता लिन सुझाव दिनुभयो । “काम ढिलो होस्, तर दीर्घ होस्, रातारात धनी हुनुपर्छ भनेर सुरु गरेको व्यवसाय तत्काल त्याग्नु हुन्न”, उहाँले युवालाई सुझावात्मकरुपमा भन्नुभयो । अध्यक्ष दाहालले आफ्नो बाल्यकाल स्मरण गर्दै खान नपुगेर कास्कीबाट चितवन झरेको मान्छे दुईपटक प्रधानमन्त्री नै भइसकेको भनी युवालाई उत्प्रेरणा जगाउनुभयो ।

उहाँले आफूले युद्धको नेतृत्व लिँदै द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न तथा समावेश संविधान निर्माणका लागिसमेत नेतृत्वदायी भूमिका लिन पाएको सुनाउनुभयो । राम्रो योजनाका साथ काम गर्नसके सफल हुने पनि बताउनुभयो ।

नयाँ राजनीतिक सोचको आवश्यकता छ : मन्त्री गहतराज

सम्मेलनमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले मुलुकको आर्थिक विकासका लागि नयाँ राजनीतिक सोचको आवश्यकता रहेको बताउनुभएको छ । मन्त्री गहतराजले शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायत क्षेत्रका सम्भावना भएको क्षेत्र रहेको तर त्यसका लागि नयाँ राजनीतिक सोचका साथै भिजनेवल नेतृत्वको हातमा राजनीतिक प्रणाली जानुपर्नेमा जोड दिनुभयो ।

उहाँले युवालाई मुलुकको समृद्धि र विकासका लागि जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । मुलकुका प्रचुर सम्भावना रहेको प्राकृतिक स्रोत र साधनलाई सही ढङ्गले सदुपयोग गर्ने नयाँ सोचको आवश्यकता भएको र त्यो युवाबाटै सम्भव रहेको मन्त्री गहतराजको भनाइ थियो । उहाँले मुलुकको जमिन र पानीको सही सदुपयोग हुनु जरुरी छ भन्नुभयो ।

सम्मेलनमा बैंक तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष पवन गोल्यानले अब कृषिको विकासँगै आर्थिक क्रान्ति आवश्यक रहेको बताउनुभयो । उद्योगी गोल्यानले युवा उद्यमीले नै त्यसको नेतृत्व गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा कृषि उत्पादनको ठूलो सम्भावना रहेको बताउँदै कृषिमा लाग्न युवालाई आग्रह गर्नुभएको छ । उहाँले कृषिको बजारीकरणमा समस्या परे युवासँग आफू पनि हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

नेपालमा व्यवसाय गर्दा त्यसमा असफल भइयो भन्दैमा उक्त व्यवसाय छाडेर जान नहुने उल्लेख गर्दैै उहाँले कडा परिश्रम गरे सफलतामा पुग्न सकिने अनुभव सुनाउनुभयो । गोल्यानले नेपालमा मह, जडीबुटी र अचारलगायतको उत्पादन गरेर त्यसलाई ब्राण्ड बेच्न पनि आग्रह गर्नुभयो ।

सम्मेलनका संयोजक विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले अबको आन्दोलन शान्ति, स्थायित्व र आर्थिक विकास भएको बताउनुभयो ।

संयोजक गैरेले अबको निर्वाचनमा जुन दल उक्त मुद्दालाई लिएर अघि बढ्छ त्यही दलले युवाको मत पाउने पनि बताउनुभयो । उहाँले युवा उद्यमी बनेर देशको अर्थतन्त्रमा बदलाब दिन चाहने युवाका लागि राजनीतिक नेतृत्वको सहयोगको खाँचो रहेको औँल्याउनुभयो । उहाँले मुलुकमा युवामैत्री र उद्योगमैत्री नीति र कानुनको खाँचो रहेको सुनाउनुभयो ।

राष्ट्रिय युवापरिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले सगरमाथा, लुम्बिनी र पशुपतिनाथलाई शिरमा राखेर कृषि, ऊर्जा, पर्यटन र औद्योगिक क्रान्तिको तिर चलाउनसके विकास र समृद्धिको खिर खान समय नलाग्ने बताउनुभयो । उहाँले हरेक वर्ष छ लाख युवा विदेश पलायन भइरहेका सन्दर्भमा उनीहरूलाई मुलुकभित्रै स्वरोजगार बनाउँदै राष्ट्रिय निर्माणको अभियानका लाग्नसके मुलुकमा आर्थिक विकासको गति अघि बढाउन समय नलाग्ने उल्लेख गर्नुभयो । जारी सम्मेलनमा ५५ जिल्लाका युवा उद्यमी र उद्यमी बन्न चाहने युवाको सहभागिता रहेको छ । सम्मेलनमा आर्थिक विकासका विभिन्न विषयमा समूहगत छलफल जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology