• Saturday 25th of July 2026

बैंकको व्याजले व्यवसाय धान्न मुस्किल


  • गोकर्णेश्वर अनलाइन

वित्तीय चर्को ब्याजले व्यवसाय धान्न नसक्ने जनाउँदै एक अङ्कमा झारेर ऋण प्रवाह गर्न पर्यटन व्यवसायीले माग गरेका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले आयोजना गरेको विजयादशमी तथा दीपावलीको शुभकामना आदान–प्रदान कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भूकम्प र कोरानाको मारले व्यवसायमा सङ्कट आएको पर्यटन व्यवसाय लयमा फर्किन अझै समय लाग्ने जनाउँदै एक अङ्कको ब्याजमा ऋण उपलब्ध गराएर सहजता प्रदान गर्न माग गर्नुभयो ।

उहाँले पछिल्लो समय वित्तीय संस्थाले व्याज बढाउँदा व्यवसायीमा थप आर्थिक सङ्कट निम्त्याएर व्यवसायबाट पलायन हुने स्थितिमा पु-याउन लागेको बताउनुभयो ।

ठूलो लगानी रहेको पर्यटन क्षेत्रलाई पलायन हुनबाट जोगाउन सरकारले लगानीमैत्री वातावरण सिर्जना गरेर व्यवसायीलाई सहुलियतरूपमा ऋण प्रवाह गर्ने नीति ल्याउन उहाँले आग्रह गर्दै आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र भएकाले पर्यटन मैत्रीनीति अवलम्बन गर्न सरकारले निकै ढिला गरेको गुनासो गर्नुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले पछिल्लो समय व्यवसायमा महिलाको सहभागिता निकै बढ्दै गएको र यसले आर्थिक रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका खेलेको धारणा राख्नुभयो । उहाँले महिलाको आर्थिक सशक्तीकरणका लागि सङ्घले पर्यटन व्यवसायी महिलासँग सहकार्य गरेर अघि बढ्ने जानकारी दिनुभयो ।

कार्यक्रममा ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले पर्यटन क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सबैको साझा सोच र धारणाको आवश्यता औँल्याउनुभयो । पर्यटन क्षेत्रमा महिलाको उपस्थिति र सहभागिता बढ्दै गए पनि निर्णायक तहमा अझै पुग्न नसकेको उहाँको भनाइ थियो ।

संस्थाका अध्यक्ष पार्वती पाण्डेले महिला पर्यटन व्यवसायी कार्यक्रममको शोभा बढाइदिने जमातको रुपमा मात्र नलिएर उनीहरुको योगदानको मूल्याङ्कन गरेर फोरम उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो । उहाँले महिलाको संस्था भन्दै पुरुषवादी सोचले हेर्दा अझै पनि कतिपय अवसरबाट बञ्चित हुनुपरेको यथार्थतालाई प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारी सल्लाहकार दुर्गा ढकाल, पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा, ओटेफका कोषाध्यक्ष लक्ष्मी लामिछाने, कार्यक्रम संयोजक माया सुवेदीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा संस्थाका सदस्य र पर्यटन सम्बद्ध सङ्घसंस्थका अध्यक्ष एवं प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology