• Saturday 25th of July 2026

गलकोटमा जिल्लाकै ठूलो बाख्रा फार्म सञ्चालन


  • गोकर्णेश्वर अनलाइन

गलकोट, १ कात्तिक (रासस): बागलुङको गलकोटमा सञ्चालित सहारा बाख्रा फर्म जिल्लाकै ठूलो बाख्रा फार्म हो । दश वटा बाख्राबाट शुरु गरिएको फार्ममा अहिले ३०० बोका, बाख्रा र पाठापाठी छन् ।

लगानी जुटाउनका लागि कोरिया जानुभएका गलकोट नगरपालिका–१ दुदिलाभाटीका कुँवर दाजुभाइले कोरियाबाट फर्केर जिल्लाकै ठूलो बाख्रा फर्म सञ्चालन गर्नुभएको हो । दाजुभाइ गमबहादुर कुँवर र विष्णु कुँवरले स्थापना गरेको वृहत्त बाख्रा फार्ममा एकै याममा ५० खसीबोका बिक्रीका लागि तयार भएका र यो वर्ष मात्रै एक करोड बराबरको खसी बोका बिक्री गर्ने लक्ष्य रहेको बताइएको छ ।

विसं २०७४ सालमा स्थापना गरिएको उक्त फार्म जिल्लाकै ठूलो र नमूना बाख्रा फार्ममा अहिले १६० वटा माउ बाख्रा मध्ये ५८ वटा बाख्रा व्याउने तयारीमा छन् । फर्ममा अहिले ३०० बाख्रा, बोका, तथा पाठापाठी रहेको फर्मका सञ्चालक गम बहादुरले जानकारी दिनुभयो ।

कोरिया पाँच वर्ष बसेका उनीहरुले त्यहाँको आम्दानी बाख्रा पालनमा लगानी गरेका थिए

“एउटा बोकोलाई सरदरमा रु २५ हजार पर्ला, बोयर तथा खरी प्रजातिको क्रस गरिएका बोकाको मासु राम्रो भएकाले उक्त प्रजातिका बोकाको मासुको माग उच्च छ, अहिले ५० वटा बोका बिक्रीका लागि तयार भएको छ” गमबहादुरले भन्नुभयो “दसैं तिहारसम्म रु १२ लाखका बोका बिक्री गर्ने हो, गत आर्थिक वर्षमा रु ५० लाखको बोका काख्रा बिक्री गरेका थियो यस पटक बोका बाख्रामा उल्लेख्य वृद्धि भएकाले रु एक कारेडसम्म आम्दानी गर्ने लक्ष्य छ ।”

हालसम्म दुई दाजुभाईको रु पाँच करोड लगानी भइसकेको उक्त फार्म छ रोपनी जग्गामा फैलिएको छ भने ३०० रोपनी आफ्नै जग्गामा घाँस खेती छ ।
“भएको आम्दानी जति सबै फर्ममै लगानी भएको छ, गत वर्ष रु ५० लाखको बाख्रा, बोका तथा पाठापाठी बिक्री गरेका थियाँै, अहिले बाख्रा उत्पादनमा निकै वृद्धि छ, यो रु वर्ष एक करोडको बोका, बाख्रा बिक्री गर्ने लक्ष्य छ” कान्छा भाइ विष्णुले भन्नुभयो “ फार्मबाट माउ बाख्रा, बोयर जातका बोका, पाठापाठी समेत बिक्री हुने गरेको र अन्य बोका मासुका लागि बिक्री भइरहेको छ, बाँकी रहेका बोका गलकोट बजारमा आफ्नै मासु पसलबाट बिक्री गर्दै आएका छौँ ।”

उनीहरुले बाख्रा पालनका लागि ३०० रोपनी जग्गा खरिद गरेका थिए । उक्त फार्ममा सरकारले व्याज अनुदान कार्यक्रमबाट रु ५० लाख ऋण तीन प्रतिशत व्याजमा उपलव्ध गराएकामा उक्त ऋणले आफ्नो फार्मले ठूलो फड्को मार्न सकेको कुँवर दाजुभाइको भनाइ थियो । “ पाइएको ऋण बाख्राको दाना खरिदलाई पुग्छ” विष्णुले भन्नुभयो “व्याज अनुदान कार्यक्रमले हाम्रो फार्ममा निकै परिवर्तन ल्यायोे, सय वटा बोका बाख्रा भएको फर्मलाई ३०० पु¥याउन सहयोग मिल्यो ।”

फार्ममा अहिले ५८ वटा बाख्रा व्याउने अवस्थामा रहेकाले बाख्राको सङ्ख्यामा वृद्धि भएर ४०० पुग्ने कुँवर दाजुभाइको भनाइ छ ।फार्म सञ्चालक विष्णुले बोकाका लागि बजारको अभाव नभएको बताउदै बाख्रा फर्मबाट आएको नाफाले घाँस बोक्न जीपसमेत खरिद गरिएको बताउनुभयो ।

उक्त फार्मले परिवारका सदस्यका साथै आठ जनालई प्रत्यक्ष रोजगारी दिन सफल भएको छ ।

गम बहादुरले कृषि विषय अध्ययन गरेपछि पाइएको रोजगारीबाट चित्त नबुझेपछि कोरिया गएको बताउदै कोरियाको कमाईले बाख्रा फर्ममा लगानी गरेको र पछि फार्मको नाफासमेत फार्ममै लगाउँदा लगानी धेरै भएको बताउनुभयो । बाख्रापालनका लागि व्यवसायिक रुपले घाँस खेतीसमेत गर्दे आएका दाजुभाइले आफ्नो फार्म पहाडी जिल्लाको वृहत्तर फर्म मध्ये एक रहेको जिकिर गरे ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology