• Saturday 25th of July 2026

रूसी अन्न, मल निर्यातका अवरोध हटाउन चीनको आग्रह


  • गोकर्णेश्वर अनलाइन

चीनले रूसी अन्न र मल निर्यातका अवरोध हटाउन सम्बद्ध पक्षसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका नायब स्थायी प्रतिनिधि गेङ सुआङले सुरक्षा परिषद्मा सोमबार भएको ब्ल्याक सी ग्रेन इनिसिएटिभमा उक्त आग्रह गरेका हुन् ।

चिनियाँ राजदूतले सम्बन्धित देशलाई रूसी अन्न र मल निर्यातमा उत्पन्न अवरोध हटाउन ठोस कदम चाल्न आह्वान गर्दै आर्थिक एवम् व्यापारिक मुद्दालाई राजनीतिक हतियार बनाउन नहुने बताए ।

रूस–युक्रेन सशस्त्र द्वन्द्वबीच विश्व बजारमा आपूर्ति शृङ्खला सुनिश्चित गर्न युक्रेन र रूसले गरेको सम्झौताको पालनामा उनले जोड दिए । संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा तुर्किएको इस्तानबुलमा गत जुलाइमा भएको अनाज र मलको निर्यातसम्बन्धी छुट्टाछुट्टै दस्तावेजमा भएको हस्ताक्षरको स्मरण गराउँदै चिनियाँ कूटनीतिज्ञले उक्त कुरामा जोड दिएका हुन् ।

ब्ल्याक सीस्थित आफ्ना जहाज एवम् पूर्वाधारमा ड्रोन आक्रमण गरेको आरोप लगाउँदै रूसले गत शनिबार ब्ल्याक सी ग्रेन इनिसिएटिभको कार्यान्वयन अनिश्चितकालका लागि तत्काल स्थगन गर्ने घोषणा गरेपछि खाद्यान्न आपूर्ति शृङ्खला प्रभावित भएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अवरोध हटाउन सक्रिय भूमिका खेल्ने आशा चीनले व्यक्त गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology