• Saturday 25th of July 2026

हिमालय एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट क्वालालम्पुर उडान गर्ने


  • गोकर्णेश्वर अनलाइन

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ । एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा मलेसियाको राजधानी क्वालालम्पुर नियमित चार्टर उडान गर्ने भएको हो । नेपाल र मलेसियाको नागरिक उड्डयन प्राधिकरण र अन्य सान्दर्भिक ओभरफ्लाइङ इजाजतपत्र प्राप्त भएपश्चात् बिहीबारदेखि उडान सञ्चालन हुने अपेक्षा गरिएको एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ ।

हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउन्ड हैन्डिलिन्ग तथा गौतमबुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड हैन्डिलिन्ग अनुमति दिने नेपाल नागरिक उड्डयन प्राधिकरणले आश्वासन दिएबमोजिम गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय चार्टर उडान सुरु गर्न लागिएको कम्पनीले जनाएको छ । प्रारम्भिक चरणका लागि एयरलाइन्सले भैरहवा–क्वालालम्पुर–भैरहवा सेक्टरमा उडान भर्ने छ भने भविष्यमा गौतमबुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड हैन्डिलिन्ग अनुमति प्राप्त भए पछि अन्य क्षेत्रमा पनि उडान विस्तार गरिने एयरलाइन्सले योजना बनाएको छ ।

हिमालय एयरलाइन्सको प्रशासनका उपाध्यक्ष, विजय श्रेष्ठले भैरहवाबाट नियमित उडान सञ्चालन गर्न निरन्तररुपमा लागि रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हिमालय एयरलाइन्सको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानले यात्रुको सुविधासँगै अन्तर्राष्ट्रिय गन्तव्यसँग नेपालका विभिन्न क्षेत्रको अझ राम्रो कनेक्टिभिटी हुनेछ, गौतमबुद्ध विमानस्थल देशकोे साझा राष्ट्रिय गौरव हो र यस विमानस्थलले धार्मिक पर्यटनको बढोत्तरीमा विशेष योगदान पु¥याउने सम्भावना भएकाले यस दिशामा हामी सबैले हातेमालो गर्नुपर्दछ ।” उपाध्यक्ष श्रेष्ठले एयरलाइन्सले आफ्नो सञ्जालमा नयाँ थपिएको क्षेत्र भैरहवासँगै गुणस्तरीय नियमित उडान र ग्राउन्ड सर्भिस उपलब्ध गराउन पनि प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology