• Saturday 25th of July 2026

दाङबाट एक सय ४१ कैदीबन्दीले मतदान गर्दै


  • गोकर्णेश्वर अनलाइन

दाङमा एक सय ४१ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । जिल्लाका दुई कारागारमा रहेका कैदीबन्दीमध्ये जम्मा एक सय ४१ जनाले अस्थायी मतदाताका रूपमा मतदान गर्न पाउने घोराही कारागार कार्यालयका प्रमुख वासुदेव खनालले जानकारी दिनुभयो ।

तुलसीपुर कारागारबाट ९१ र घोराही कारागारबाट ५० जना मतदानमा सहभागी हुन पाउने भएका छन् । घोराही कारागारमा तीन सय ४९ कैदीबन्दी रहेको भए पनि मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेस गरेका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने उहाँले जानकारी दिनुभयो ।

कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरूलाई मतदानको व्यवस्था गरिएको र त्यसका लागि मतदान गराउन कारागारमै कर्मचारी पुग्ने उहाँको भनाइ छ । जिल्लामा दुई ठाउँमा अस्थायी मतदानस्थल राखिने भएका छन् । त्यसमा घोराही कारागार कार्यालय र तुलसीपुर कारागार कार्यालय रहेका छन् ।

यी दुई मतदानस्थलबाट कैदीबन्दी, कर्मचारी र शिक्षकले पनि मतदान गर्न पाउने छन् । कार्यालयका प्रमुख खनालका अनुसार नामावली सङ्कलनको अवधिमा कारागारमा रहेका सबै कैदीबन्दीले अवसर नपाएका कारण धेरै भोट हाल्नबाट छुुटेका छन् ।

“कारागार कार्यालयमै सबै कैदीबन्दीको नामावली सङ्कलनको व्यवस्था भएको भए सबै मतदानमा सहभागी हुने थिए”, उहाँले भन्नुभयो, “तर सबै कैदीबन्दीको नामावलीमा नाम नभएको हुँदा धेरै छुटेका छन् ।” तुलसीपुर कारागारमा हालसम्म पाँच सय ८४ कैदीबन्दी रहेका छन् । त्यसमध्ये ७७ पुरुष र १४ महिला मदतानमा सहभागी हुन पाउने तुलसीपुर कारागार कार्यालयका निमित्त जेलर रम्बा केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology