• Saturday 25th of July 2026

कालीगण्डकी पुलको कामले छ वर्षपछि गति लियो


  • गोकर्णेश्वर अनलाइन

जिल्लाको जैमिनी नगरपालिका-१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ । दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ वर्षपछि गति लिएको हो ।

‘‘लामो समयसम्म काम किन भएन भनेर चिन्ता लागेको थियो”, तर अहिले काम सुरु भएपछि आशा पलाएको छ”, कुश्मीशेराका स्थानीय प्रेमप्रसाद शर्माले भन्नुभयो ।

यो पुलको निर्माण जैमिनी नगरपालिका–१ कुश्मीशेरा र पर्वतको फलेवास नगरपालिका–६ देवीस्थान जोड्ने गरी २०७३ साल असोज ९ गतेदेखि सुरु गरिएको थियो । प्राविधिक कारणले लामो समय काम रोकिएको पुलका संरचना बनाउने काम अहिले धमाधम भइरहेको सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियर किरण पौडेलले बताउनुभयो ।

रसुवा÷श्री गिता÷फेवा जेभीले सडक डिभिजन कार्यालयसँग पुल निर्माणको सम्झौता गरेर छ वर्षअघि काम थालेका थिए । हाल ३५ प्रतिशत भौतिक प्रगति भएको छ ।

“आगामी असार मसान्तसम्म म्याद थप भएको छ’’ पौडेलले भन्नुभयो, ‘‘थपिएको समयमा काम सकिनेमा आशावादी छौँ ।’’

बागलुङ र पर्वत दुवैतर्फ पुल जोडिने संरचना बनाउने काम सकिएको छ भने कालीगण्डकी नदीको बीचमा एउटा पिल्लर तयार भएको छ । पुलको पश्चिमतर्फको पिल्लर बनाउनका लागि कालीगण्डकी डाइभर्सनको काम भइरहेको छ । चौँथो पटक म्याद थप भएपछि पुल निर्माणको काम धमाधम भइरहेको निर्माण कम्पनीका इञ्जिनियर अनिल श्रेष्ठले दाबी गर्नुभयो ।

‘‘पुल तोकिएको समयमै निर्माण सक्न चाहन्थ्यौंँ तर निर्माण स्थलसम्मको सडककै कारणले काम थाल्नै पाएनौंँ’’ श्रेष्ठले भन्नुभयो, ‘‘सडक साँघुरो हुँदा पूर्वाधार निर्माणका लागि आवश्यक मेसिन ल्याउन पाएनौँ, करिडोर सेनाले फराकिलो बनाएपछि पुलको काम थालिएको हो ।’’

नदीमा पुल निर्माण गर्दा पटक–पटक पानी तर्काउनुपर्ने र वर्षायाममा पानी तर्काउन सम्भव नहुने भएकाले पनि काममा ढिलाइ भएको श्रेष्ठले बताउनुभयो ।

नदीभित्रबाट पिल्लर उठाउने काम सकिएपछि पिल्लरमा जोड्ने स्लेप हाल्ने काम सुरु गरिने उहाँले जानकारी दिनुभयो । आगामी बर्खाअघि नै नदीभित्र गर्नुपर्ने काम सकिने भएकाले त्यस बाहेकका काममा भने अब अवरोध नआउने उहाँको बुझाइ । रु १३ करोड १२ लाख ४९ हजार तीन सय ६४ रुपैयाँमा लागतमा तीस महिनाभित्र पुल निर्माणको सम्झौता भएको थियो ।

बागलुङ–पोखरा राजमार्गको विकल्पको रुपमा पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जा हुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्न यो पुल आवश्यक मानिएको छ ।

समयमा पुल नबन्दा दुई वर्ष अघिको भदौमा एक साता मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध हुँदा बागलुङवासीले वैकल्पिक मार्गको प्रयोग गर्न पाएका थिएनन् । कालीगण्डकी करिडोरमा जोडिने यो पुलले पर्वत, स्याङ्जा र पोखरालाई समेत करिडोरको पहुँचमा ल्याउने काम गर्ने स्थानीय हरि केसी बताउनुहुन्छ ।

गण्डकी प्रदेश मुकाम पोखराबाट स्याङ्जा हुँदै पर्वत र बागलुङको जैमिनी नगरपालिका हुँदै गलकोट जोड्ने रणनीतिक सडकको मुख्य पक्की पुल हो यो । ऐतिहासिक जैमिनीधाम क्षेत्रमा निर्माण भइरहेको पुलले पर्वत र बागलुङका आर्थिक, सामाजिक र धार्मिक क्रियाकलापमा समेत प्रभाव राख्छ । पुल बनेमा मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आउने समस्याका कारण यात्रुले सास्ती खेप्नु नपर्ने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology