• Saturday 25th of July 2026

पेश्की लिएका ठेकेदार १० महिनादेखि बेपत्ता


  • गोकर्णेश्वर अनलाइन

सदरमुकाम दुनै-ल्यासीक्याप सडकखण्डको काम सम्झौता भएको दश महिना बितिसक्दा पनि सुरु हुन सकेको छैन ।

भेरी करिडोर अन्तर्गत पर्ने सडकखण्ड निर्माणका लागि २०७८ साल चैतमा सूर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनीसँग सम्झौता भएपनि अझै काम सुरु नसकेको हो ।

नेपाल–चीनको सीमावर्ती क्षेत्र मोरिम्ला नेपाल हुँदै भारतको रुपैडिया जोड्ने महत्वपूर्ण रणनीतिक तथा व्यापारिक सडकखण्ड अन्तर्गतपर्ने यस खण्डको काम यथाशक्य रु गराउन कार्यालयले बारम्बार ताकेता गरेपनि निर्माण कम्पनीले अझै काम सुरु नगरेको सडक डिभिजिन कार्यालय चौहरजहारीका इञ्जिनियर दिलीप यादवले गुनासो गनुभयो ।

“दुई पटक ठेक्का किन नतोड्ने व्यहोरा सहितको ताकेता पत्र काटिसकेका छौँ, एउटा पत्र गत मङ्गलबार सात दिनको समयसीमा राखेर काटिएको छ, यदि सात दिनभित्र सम्पर्कमा नआएर ठेक्का तोड्ने प्रक्रियामा जान्छौ”, इञ्जिनियर यादवले भन्नुभयो ।

“सम्झौता भएलगत्तै काम सुरु गर्ने भनेर रु ५५ लाख पेश्की रकम रकमसमेत गइसकेको छ, ठेकेदारका कारण काममा ढिलासुस्ती भएको हो”, उहाँले थप्नुभयो ।

आयोजनामा कूल लागत रु १३ करोड ४१ लाख खर्च हुनेछ । सडकखण्ड दुनै–ल्यासीक्याप सडकखण्ड काइके,डोल्पोबुद्ध गाउँपालिका हुँदै नेपाल–चीन सिमामा पर्ने मोरिम्ला नाका पुग्नेछ ।

सडक डिभिजन कार्यालय चौहरजहारीलाई काइके गाउँपालिकाले काम छिटो सुरु गर्न भन्दै गत मङ्सिर २८ मा पत्र लेखेको छ ।

पत्रमा सम्झौता भएको महिनौँ वितिसक्दा पनि गाउँपालिका हुँदै उपल्लो डोल्पासम्म जोड्ने सडक बन्द भएको र आम नागरिकलाई आवतजावतमा समस्या भएको भन्दै निर्माण कम्पनीलाई तत्काल काम सुरु गराउन अनुरोध गरिएको थियो ।

सडक खण्डको काम सुरु नभएकै कारण काइके गाउँपालिकासहित उपल्लो डोल्पा पुग्ने सर्वसाधारणलाई धेरै सास्ती भएको काइके गाउँपालिकाका अध्यक्ष अङ्गत रानाले बताउनुभयो ।

तत्कालै काम सुरु गछौँ : निर्माण कम्पनी

श्रेया निर्माण कम्पनीका प्रतिनिधि भीम बोहोराले तत्काल काम सुरु गर्ने दाबी गर्नुभएको छ ।

सम्झौता भए लगत्तै काम सुरु गर्ने भनेर डोजर ल्याउन प्रयास गरेपनि बर्खामा खोलामा पानीको मात्रा बढेपछि डोजर पार गराउन नसक्दा काममा ढिलाइ भएको उहाँको जिकिर छ ।

“सडक निर्माण अवधि झण्डै तीन वर्ष छ”, उहाँले भन्नुभयो, “अब एकवर्षभित्रै काम सम्पन्न गर्नेगरी पुस २० गतेभित्र काम सुरु गर्छौँ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology