• Saturday 25th of July 2026

कोलम्बियाको युद्धविरामको संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत


  • गोकर्णेश्वर अनलाइन

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले कोलम्बियामा भएको युद्धविराम सम्झौताको स्वागत गर्नुभएको छ । उहाँले आइतबार सो सम्झौताको स्वागत गर्नुभएको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ ।

कोलम्बियामा हिंसा गरिरहेका विभिन्न पाँच ओटा सशस्त्र समूहले यहाँको सरकारसँग सम्झौता गरेर छ महिना अवधिका लागि युद्धविराम गर्ने सम्बन्धी पत्रमा हालै हस्ताक्षर गरेका थिए ।
कोलम्बिायाका राष्ट्रपतिले नयाँ वर्ष सन् २०२३ को शुभकामना सन्देश दिने क्रममा गत डिसेम्बर ३१ का दिन सम्बोधन गर्दै यहाँका सशस्त्र पाँच विद्रोही समूहसँग कोलम्बिया सरकारले युद्धविराम गरेको जनाउनुभएको थियो ।

उहाँले सो युद्धविरामको अवस्था यही सन् २०२३ को जनवरीदेखि आगामी जुन ३० तारिखसम्म कायम रहने पनि बताउनुभएको थियो । कोलम्बियामा युद्धविरामसँगै विकसित भएको पछिल्लो राजनीतिक घटनाक्रमले यहाँ शान्ति स्थापनाको आशा यहाँका नागरिकमा बढेको संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले बताउनुभएको छ ।

यही युद्धविरामको अवधिमा यहाँका सबै सशस्त्र समूहहरुसँग शान्ति वार्ताको प्रक्रिया अघि बढाउने र यसका माध्यमबाट देशमा शान्ति स्थापना गर्ने विषयमा सबै पक्ष लाग्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।

यो युद्धविरामको सही सदुपयोग गरेर कोलम्बियामा शान्ति स्थापनाको काममा लाग्न पनि महासचिव गुटरेसले कोलम्बियाका सबै पक्षसँग आग्रह पनि गर्नुभएको छ । उहाँका प्रवक्ता डुजारिकले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा कोलम्बियामा शान्ति स्थापनाका लागि आवश्यक सबै सहयोग गर्न संयुक्त राष्ट्रसंघ सदैव तत्पर रहेको पनि जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology