• Saturday 25th of July 2026

सहकारीको एक वर्षमै रु तीस करोडको वित्तीय कारोवार


  • गोकर्णेश्वर अनलाइन

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाले आब २०७५÷७६ मा रु ३० करोडको वित्तीय कारोवार गरेको छ । सहकारीले सोही अवधिमा रु चार करोड ३१ लाख ८१ हजार ८८१ आम्दानी गरेको छ । जुन आव २०७४÷७५ तुलनामा ३५ दशमलव ५६ प्रतिशतले बढी रहेको छ । सहकारीको १२औँ साधारणसभामा आयव्ययको प्रतिवेदन पेश गर्दै सहकारीका कोषाध्यक्ष प्रकाश खड्काले चालू आवमा रु ४२ लाख ५३ हजार ४०२ रकम खुद नाफा आर्जन गरिएको बताउनुभयो । सहकारीमा बचतकर्ताको सङ्ख्यामा वृद्धि भएसँगै बचत रकम रु १६ करोड २० लाख ३२ हजार ४४९ पुगेको छ । आव २०७४÷७५ तलुनामा बचत रकम चालू आवमा ४४ दशमलव ३६ प्रतिशतले वृद्धि भएको उहाँले बताउनुभयो । उहाँका अनुसार सहकारीमा बाह्य ऋण रु आठ करोड सात लाख २१ हजार ९८३ रहेको छ । लगानीमा रहेको ऋण रु २५ करोड ८७ लाख ७९ हजार ८९२ र असुली दर ९९ दशमलव ८६ प्रतिशत रहेको छ । सहकारीबाट ऋण लिएर व्यवसाय सञ्चालन गर्नेहरुको सङ्ख्या आव २०७४÷७५ तीन हजार ८४९ रहेकामा आव २०७५÷७६ मा बढेर चार हजार ५२१ पुगेको छ ।

सहकारीको शेयर पूजीँ एक करोड ८८ लाख ५४ हजार १०० रहेको छ । आव २०७४÷७५ को तुलनामा १० दशमलव दुई प्रतिशतले बढेको छ । सहकारीमा शेयर सदस्य सङ्ख्या नौ हजार ६६९ रहेका छन् । सहकारीले न्यून आय भएका बासिन्दाको आयस्तरमा वृद्धि गर्नका लागि २३८ वटा केन्द्रसमेत सञ्चालन गरेको छ । सहकारीले जनजाति आदिवासी वर्गका उद्यमशील महिला तथा पुरुषहरुको वित्तीय सेवाको माध्यमबाट आर्थिक विकासका लागि सहज रुपमा ऋण परिचालन गर्नका लागि जिल्लाका सात स्थानबाट सेवा प्रवाह गर्दै आएको छ । सुदूरपश्चिम क्षेत्रमा उत्कृष्ट वित्तीय सेवा प्रवाह गरेअनुरुप सहकारी दुई पटक राष्ट्रिय पुरस्कारबाट पुरस्कृतसमेत भइसकेको सहकारीका अध्यक्ष शिवराज भट्टले बताउनुभयो ।

सहकारीले भावी योजनामा आबद्ध सदस्यहरुको क्षमता अभिवृद्धि गर्नका लागि वित्तीय साक्षरता कार्यक्रम, सानैदेखि बचत गर्ने बानीको विकास गर्न विद्यालय सहकारी कार्यक्रम, पूँजी तथा सम्पत्रि वृद्धि गर्ने, सदस्यहरुको सदस्य सन्तुष्टि सर्भेक्षण गर्ने, आन्तरिक लेखा प्रणालीलाई चुस्तदुरुस्त पार्ने, सदस्यहरुको व्यवस्थित रुपमा अभिलेखीकरण गर्ने र सहकारी एकीकरणमा योगदान दिने कार्यक्रम अघि सारेको छ । यसैगरी सहकारीले बचत वृद्धि गर्ने, संस्थाको भवन निर्माण गर्ने, मोबाइल बैंकिङ सेवा सञ्चालन गर्ने, आयमूलक कार्यमा ऋण लगानी गर्ने र कृषि क्षेत्रलाई आधुनिक तथा व्यावसायिक बनाउन कृषि कार्यक्रम सञ्चालनको योजना बनाएको छ । विसं २०६५ मा २५ जना जागरुक युवाको प्रयासमा रु एक लाख ३२ हजार शेयर पूँजी सङ्कलन गरी यस क्षेत्रमा बैंकिङ सेवा नभएको अवस्थामा सहकारी सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology