• Sunday 26th of July 2026

चिसो बढेपछि दाउरा वितरण शुरु


  • गोकर्णेश्वर अनलाइन

केही दिनयता शीतलहर शुरु भएसँगै ह्वात्तै चिसो बढेको कारण सर्वसाधरणको जनजीवन प्रभावित हुन थालेपछि उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका स्थानमा डिभिजन वन कार्यालय तथा स्थानीय सङ्घसंस्थाले आगो ताप्नका लागि स्थानीयवासीलाई दाउरा वितरण शुरु गरेका छन् । शीतलहर बढेर चिसोको प्रभाव बढेपछि डिभिजन वन कार्यालयले गाईघाटको बोक्से चौक, गाईघाट बजार, पुरानो गाईघाट, देउरीसहितका क्षेत्रमा वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरेको छ । बिहीबार र शुक्रबार गरेर झण्डै यी क्षेत्रमा दश क्विन्टल दाउरा विभिन्न चौकमा बालेर ताप्नका लागि वितरण गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जागेश्वर साहले बताउनुभयो । यस्तै नगरका गरिब मुसहर तथा डोम बस्तीमा समेत आगो ताप्न दाउराको व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

चिसोबाट बच्न ज्येष्ठ नागरिकका लागि गाईघाट त्रियुगा शान्तिधाम समितिले समेत पाँच क्विन्टलभन्दा बढी दाउरा किनेर गाईघाट मोतिगडा क्षेत्रमा वितरण गरिएको शान्तिधाम समितिका अध्यक्ष गिरीराज खतिवडाले बताउनुभयो । घरमा आर्थिक कमजोरका कारण ओढ्ने ओछ्याउने कमजोर हुने यस क्षेत्रका मुसहर समुदायका परिवारहरु रातभरि नै आगो बालेर आगोको सहाराले रात कटाउन थालेका जोगिदह मुसरटोलका सबुर सदाले बताउनुभयो । निरन्तर शीतलहरका कारण चिसो बढेपछि उदयपुरका तराई क्षेत्रका धेरै विद्यालयका विद्यार्थीसमेत विद्यालय उपस्थित हुन छाडेका सम्बन्धित विद्यालयका शिक्षकले बताउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology