• Monday 27th of July 2026

विसं २०७७ का लागि १३ पात्रोलाई स्वीकृति


  • गोकर्णेश्वर अनलाइन

नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष विसं २०७७ का लागि १३ पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिएको छ । समितिले पञ्चाङ्गकारहरु सूर्यनाथ पन्तको ‘तोयनाथ’, विश्वराम (शर्मा) सापकोटाको ‘बाबुराम’, मुरारीराज पाण्डेको ‘नरनाथ’, पद्मनाभ त्रिपाठीको ‘हिमाल’, डिल्लीराज जोशीको ‘अठोला’, दिव्यपुरूष ढकालको ‘तारकेश्वर’, सूर्यप्रसाद ढुङ्गेलको ‘सूर्य’, लोकराज पौडेलको ‘आकाश–दर्शन’, शशिधर जोशीको ‘बगलामुखी’, दामोदर जोशीको ‘शुभ’, श्रीकेश कौशिकको ‘बाबा गोरखनाथ’, सिद्धिलक्ष्मी व्यञ्जनकारको ‘सिद्धि’ र चेतराज उपाध्यायको ‘खप्तड तारानाथ पञ्चाङ्ग गरी १३ वटा पात्रोलाई स्वीकृति दिएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । समितिले स्वीकृति दिएका पात्रो माघ पहिलो सातादेखि नै बजारमा आउन थालेका छन् । चाड पर्वका सम्बन्धमा धर्मशास्त्रविद्बाट शास्त्रीय आधारमा निर्णय गरिएकाले यिनै पात्रोको प्रयोग गर्न समितिले आम मानिसमा आह्वान गरेको छ ।

विगत केही वर्षदेखि समितिको स्वीकृति नलिई प्रकाशन भएको पात्रोका कारण तिथि, मिति, चाड पर्व नमिल्दा समस्या पर्ने गरेकाले आधिकारिक पात्रोको मात्र उपयोग गर्न पनि अध्यक्ष गौतमले अनुरोध गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको समितिको स्वीकृतिबिना प्रकाशन भएका पात्रोको प्रयोग गर्दा तिथि मिति, चाड पर्वलगायतका बारेमा कुनै भ्रम वा द्विविधाको अवस्था आएमा आफैँ जिम्मेवार हुनुपर्ने जनाइएको छ । समितिको स्वीकृति भएका पात्रोमात्र प्रयोगमा ल्याउँदा कुनै समस्या आएमा त्यसको समाधान सरकारले मनोनयन गरेका विद्वान्को समूहले गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology