• Monday 27th of July 2026

गाउँमा सडक पुगेपछि खुशीयाली


  • गोकर्णेश्वर अनलाइन

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको विकट कुइनेमङ्गलेमा अक्करेभिर फोडेर मङ्गलबार मोटर बाटो पु¥याएपछि गाउँलेले नाचगान गरेर खुशियाली मनाएका छन् । पात्लेखर्कमा ९३ वर्षीय रिबहादुर छन्त्याल पैदल छिचोल्नसमेत मुस्किल पर्ने अक्करे पहाडलाई काटेर मोटरबाटो गाउँमा पुगेपछि हर्षविभोर हुँदै छमछमी पुख्र्यौली नाच नाच्नुभयो । घरआँगानमै मोटरबाटो पुगेपछि अर्का वृद्ध ८५ वर्षीय चित्रबहादुर पुनसमेत फुरुङ्ग हुनुभयो । विगतमा सवारीसाधन र मोटरबाटो हेर्न एकदिनको पैदलयात्रा गरेर आउनुपर्ने अवस्थामा गाउँपालिकाले गाउँलाई सडक सञ्जालसँग जोडेपछि पात्लेखर्कका स्थानीयवासीले खुशियाली मनाएका हुन् । “गाउँमै मोटरबाटो आयो”, कुइनेमङ्गलेका ८९ वर्षीय तमान छन्त्यालले भन्नुभयो, “अब पैदल हिँडेर बजार जानुपर्ने अवस्थाको अन्त्य हुँदैछ”, गाउँपालिकाभित्रका सबै बस्तीलाई सडक सञ्जालले जोड्ने योजनाअन्तर्गत रु १४ लाखको लागतमा साढे चार किलोमिटर सडकको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाभित्रका जनताको आधारभूत आवश्यकता पूरा गर्ने बताउनुभयो ।

“गाउँमा सडक पुगेपछि तपाईहरुको अनुहारमा मैले चमकदेखेँ”, प्रमुख भण्डारीले भन्नुभयो, “यसलाई कमी हुन दिने छैन”, उहाँले विकट बस्तीमा सडक प्राथमिकतामा परेको बताउनुभयो । सोही अवसरमा नेपाली काँग्रेस म्याग्दीका सचिव मीनबहादुर कार्की, गाउँपालिका उपाध्यक्ष कमला तिलिजा, काँग्रेसका युवा नेता एवं स्थानीय ओम छन्त्यालले गाउँलेको खुशियालीमा साथ दिनुभएको थियो । कुइनेमङ्गलेको पात्लेखर्क जिल्लाकै दुर्गम बस्ती हो । पात्लेखर्कभन्दा माथि बस्ती छैन रघुगङ्गा गाउँपालिका–१ बेगखोला हुँदै चिमखोला–खरीबोटध्यासीखर्क हुँदै पात्लेखर्क पुगिन्छ । वडाध्यक्ष गमान छन्त्यालले गाउँपालिका–८ को अन्तिम बस्तीमा सडक पुगेपछि स्थानीयलाई सहज भएको बताउनुभयो । उहाँले सडक उद्घाटनको क्रममा ट्र्याक्टर पुगे पनि सदरमुकाम बेनी आवतजावत गर्ने निकट भविष्यमै जीप सेवा सञ्चालन गर्ने बताउनुभयो । सडक सञ्जालको विस्तारसँगै आसपासका बस्तीसमेत गरी करिब २०० घर लाभान्वित हुने वडा कार्यालयले जनाएको छ । सोही अवसरमा ध्यासीखर्कदेखि चौरखानी जाने पदमार्ग रु पाँच लाखको पदमार्गको समेत अनुगमन गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology