• Monday 27th of July 2026

छुट्टाछुट्टै घटनामा तीनको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

बागलुङमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१ रामरेखामा घरको छतबाट खसेर एक वालिकाको मृत्यु भएको छ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी घर भई रामरेखा आफन्त सीता विकको घरमा आएकी विमला विककी छोरी १५ महिनाकी दीपसिना विकको आइतबार दिउँसो घरको छतमाथि खेलिरहेका बेला अचानक भुईँमा खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । छतबाट खसेर घाइते बालिकाको धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइए पनि अस्पतालले गए राति मृत घोषाण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो । यसैबीच बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ भडकुवामा एक शिक्षक हराएको तीन दिनपछि मृत अवस्थामा फेला पर्नुभएको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका घर भई बागलुङको जैमिनी नगरपालिका–८ स्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक दुर्गाबहादुर राना आइतबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

शिक्षण पेशाका लागि जैमिनीमा डेरा गरी बस्ने ५५ वर्षीय राना माघ १७ गते पर्वत घरदेखि अध्यापनका लागि जैमिनी आएपछि सम्र्पकविहीन हुनुभएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख भट्टले जानकारी दिनुभयो । शिक्षकको शव सडकदेखि केही तल बारीको कुनामा फेला परेको हो । शिक्षकको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । शवको धौलागिरी अञ्चल अस्पताल बागलुङमा शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । यसैबीच बागलुङ नगरपालिका–३ लालीगुँरास चोकमा रहेको होटल ऐलिनाको शौचालयमा आइतबार एक जनाको मृत्यु भएको छ । काठेखोला गाँपालिका–७ रेश घर भएका ४७ वर्षीय रनबहादुर कार्की होटलमा गई होटलमा खाजा नखाँदै शौचालय गएकोमा लामो समयसम्म शौचालयको ढोका नखोलेकोले प्रहरीलाई होटलधनीले खबर गरेका थिए । प्रहरीले शौचालयमा फेला परेका कार्कीलाई धौलागिरी अञ्चल अस्पताल लगे पनि डाक्टरले मृत घोषण गरेको थियो । मृत्यु हुनुको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology