• Monday 27th of July 2026

आयोडिनयुक्त नूनले ढिके नुन विस्थापित


  • गोकर्णेश्वर अनलाइन

ग्रामीण क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नून सहजै पाइन थालेपछि प्रयोगकर्ता बढ्न थालेका छन् । ढिके नूनको प्रयोग गर्दै आएका यहाँका स्थानीयवासीहरु पछिल्लो समय आयोडिनयुक्त नूनको प्रयोगमा बानी पार्न थालेका छन् । सहजै सो नून पाउन थालेपछि ग्रामीण क्षेत्रमा ढिके नूनको प्रयोग घट्दै गएको जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका–५ का स्थानीय लालबहादुर कामीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला आयोडिन नून आउँदैनथ्यो, अहिले सहजै आयोडिनयुक्त नून पाउन थालेपछि हामीले ढिके नून खान छोडेका छाँै ।” साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दिपायल शाखाले यहाँका स्थानीय तहसँग मिलेर गाउँगाउँमा आयोडिनयुक्त नूनको गोदामको व्यवस्था गरी नून किन्न सहज र सजिलोे बनाएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा प्रतिकिलो १६ रुपैयाँमै आयोडिनयुक्त नून वितरण हुन थालेपछि जिल्लाका नौ वटा स्थानीय तहका नागरिकलाई मागअनुसारको नून प्राप्त गर्न सजिलो भएको छ ।

जिल्लाको दिपायल पिपल्लामा मात्रै लिमिटेडले शाखा स्थापना गरी सो नून वितरण गर्दै आएको थियो । विगतमा सो नून लिनका लागि टाढा जानुपर्ने भएकाले पनि स्थानीयहरु ढिके नून नै बढी प्रयोग गर्र्ने गरेको केआईसिंह गाउँपालिका–५ का स्थानीय चेतराज भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नून लिनका लागि घण्टौँ हिँडेर दिपायल पुग्नुपथ्र्यो, अहिले गाउँमै सुपथ मूल्यमा पाउन थालेपछि हामीलाई सजिलो भएको छ र आयोडिन नून नै प्रयोग गर्दै आएका छौँ ।” लिमिटेडले यहाँका गाउँघरमै शाखा कार्यालय स्थापना गरेपछि आयोडिन नून किन्नका लागि जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुरलगायतका बजारमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको केआईसिंह गाउँपालिका–७ सलेनाका स्थानीय तथा शिक्षक जगतबहादुर बलायरले जानकाररी दिनुभयो । लिमिटेड दिपायलका अनुसार गाउँबस्तीमै सरकारी अनुदानको आयोडिन नून वितरण हुन थालेपछि ढिके नूनको प्रयोग घट्दै गएको छ । आयोडिन नून उपभोगले बालबालिकामा गलगाड आउने, लाटो लठेब्रो हुने जस्ता शारीरिक समस्यामा कम हुँदै गएको जोरायल गाउँपालिका स्वास्थ्य एकाइ कार्यालयका प्रमुख गोविन्दबहादुर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँमा ढिके नून विस्थापित गर्दै आयोडिनयुक्त नूनको प्रयोग बढेको छ, जस्ले गर्दा गलगाड आउने, लाटो लठेब्रो हुने जस्ता शारीरिक समस्यामा कमी आएको छ ।” आयोडिनयुक्त नूनको प्रयोग गर्दा हुने फाइदाका विषयमा व्यापक रुपमा जिल्लाव्यापी जनचेतना फैलाउन सकिएमा यसको प्रयोगदर अझ बढ्ने डोटी प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “आयोडिन नूनको प्रयोगले हुने फाइदाका बारेमा व्यापक रुपमा जनचेतना फैलाउन सके गाउँमा अलिकति बचेको ढिके नून प्रयोग गर्ने चलनको अन्त हुनेछ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology