• Monday 27th of July 2026

लोप हुँदै ढिकी जाँतो र हातेमुसल


  • गोकर्णेश्वर अनलाइन

पछिल्लो समय ग्रामीण भेगबाट ढिकी जाँतो र हातेमुसल लोप हुँदै गएका छन् । गाउँघरमा भित्रिएका टुकटुके मिल र पानीघट्ट निर्माण भएपछि ग्रामीण भेगबाट कुटानीपिसानी गर्ने ढिकी जाँतो लोप हुँदै गएका हुन् । ढिकी जाँतो लोप हुँदा बिहान र बेलुकीपख ढिकी जाँतोले गुञ्जायमान हुने गाउँघरका बस्ती आजभोलि सुनसान हुन थालेका छन् । आवाज नसुनिँदा गाउँघरका अन्न उत्पादन हुन छाडेको हो कि भन्नेसमेत भान हुन्छ । गाउँका सबै मानिस तराईको चामलको भरमा परेर परनिर्भर बनेका हुन् कि भनेर आकलन पनि गर्न सकिन्छ । मिरमिरेमा भालेको डाकसँगै उठेर कुटानीपिसानी गर्नुपर्ने बाध्यता भोगेका गाउँका महिला आजभोलि गाउँघरमा भित्रिएका पानीमिल र आधुनिक घट्टले गर्दा सुविधा ल्याएको बताउँछन् । “पहिला ढिकी जाँतो, हातेमुसलले गर्दा हामीलाई दुःख हुन्थ्यो, आधुनिक घट्ट र टुकटुके मिल आएपछि सुविस्ता भएको छ”, पश्चिम दैलेख ठाटीकाँध गाउँपालिका–१ की नैना शाहीले भन्नुभयो, “कुटानीपिसानीबाट बचत भएको समयलाई बालबच्चाको सरसफाइ र तरकारी खेतीमा लगाउने गरेका छौँ ।” आधुनिक घट्ट र टुकटुके मिलले गाउँमा पाइने जैविक अन्नको स्वाद भने फरक बनाइदिएको सोही ठाउँका ९० वर्षीया भगे कामीले बताउनुभयो ।

“महिलाका दुःखमा कमी भए पनि खानाको स्वाद नै बिगा¥यो, ढिकी र जाँतोमा कुटानीपिसानी गरेका अन्नमा पाइने स्वाद हराउन छाडेको छ”, उहाँले भन्नुभयो । गाउँमा आउने पर्यटकलाई आधुनिक मिल र पानीघट्टले रिझाउन नसक्ने दुल्लु नगरपालिका–९ धामीगाउँका शेर्वानाथ योगीले बताउनुभयो । उहाँका अनुसार घट्ट र मिलसँगै सम्बन्धित निकायले परम्परागत यन्त्रलाई लोप हुन नदिने योजना ल्याउनुपर्छ । चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ की मनिषा शाही भने आधुनिक यन्त्रले किशोरी र महिलाका दुःख हटेकाले परिवर्तन भएको बताउनुहुन्छ । । “सात–आठ वर्ष पहिला विद्यालय जानुभन्दा पहिला कुटानीपिसानी गर्नुपथ्र्याे, अहिले स्कूल बिदाको दिन पानीघट्टमा गएर धुलो पिसेर ल्याइहाल्छम”, उहाँ भन्नुभयो ।

आधुनिकयन्त्रले गर्दा गाउँघरमा हुने हरेक कार्यक्रममा सहभागी हुन पाउँदा केही चेतना जागेको उहाँले बताउनुभयो । ग्रामीण भेगमा घट्टमा पिसानी गरेको शुल्क मानापाथी दिइने चलन छ । तीस केजी गहुँ वा मकै पिसेको तीन माना गहुँ वा मकै तिर्नुपर्छ । मिलमा कुटानीपिसानी गर्दा भने रकम तिर्ने गरिन्छ । महिलालाई केही सुविधा भए पनि आधुनिक मिल वा घट्टमा अहिले पनि महिलाकै उपस्थिति छ । जहाँ जसरी काम भए पनि यस्ता जोखिमयुक्त काममा पुरुषको सहभागिता बढाउनुपर्ने आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराको जोड छ । “हामीले आधुनिक परिवर्तनसँगै महिलाका दुःख देखेर पानीघट्ट बनायौँ तर संस्कार बचाउनकै लागि ढिकी जाँतोलाई हटाउनै पर्छ भन्ने अडान लिएका छैनौँ ।” उहाँका अनुसार स्वादिलो खानाका लागि हातेमुसल, ढिकी जाँतो लोप हुन दिनुहुँदैन । उहाँले भन्नुभयो, “पछिल्लो समय गाउँबस्तीबाट हातेमुसल, ढिकी जाँतो लोप हँुदै गए पनि यहाँका बासिन्दा संस्कार बचाउन र खानाको स्वाद कायम राख्न पाहुनालाई ढिकी जाँतोमा कुटानीपिसानी गरेको खाना खुवाउने गर्छन् ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology