• Monday 27th of July 2026

मध्यपहाडीको निसीखोला खण्डमा कालोपत्रे शुरु


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ जिल्लामा पर्ने निसीखोला खण्डमा कालोपत्रे गर्न शुरु गरिएको छ । जिल्लाको सुगम मानिने बागलुङ बजारदेखि घोडाबाँधे सडकखण्डको २५ किलोमिटर कालोपत्रे हुन नसकेको अवस्थामा दुर्गम मानिने निसोखालामा लोकमार्गको काम धमाधम भइरहेको लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । मध्यपहाडी लोकमार्गको निसी खोलामा पर्ने ४१ किलोमिटर सडकमध्ये गत वर्ष साढे चौध किलोमिटर सडक कालिका प्यासिफिक निर्माण सेवाले कालोपत्रे सम्पन्न गरिसकेको छ । ढोरपाटन नगरपालिका–२ शेरा बजारदेखि निसीखोला–५ वडावन खोलासम्मको १७ किलोमिटर सडक कालोपत्रे गर्न शुरु गरिएको मध्यपहाडी लोकमार्ग आयोजना पर्वतका प्रमुख आशिष थापाले जानकारी दिनुभयो । कालोपत्रे गर्न शुरु गरिएको १७ किलोमिटर सडक स्वच्छन्द शङ्करमाली निर्माण कम्पनी ठेक्कामार्फत जिम्मा लिएको छ ।

धमाधम कालोपत्रेको तयारी असार मसान्तसम्म निसीखोला खण्डको ४१ किलोमिटर सडक कालोपत्रे गर्ने गरी निसीखोला खण्डको केही भागमा सडक चौडा पर्ने काम भइरहेको छ भने केही भागमा कालोपत्रे गर्न लागिएको लोकमार्गका साइट इञ्जिनीयर सरोज ढकालले जानकारी दिनुभयो । “हामीले सकेसम्म असार मसान्तसम्म निसीखोला खण्डको सबै सडक कालोपत्रे गर्ने गरी काम अगाडि बढाएका छौँ”, ढकालले भन्नुभयो, “निसीखोलाको उपल्लो खण्डमा भारी हिमपातका कारण कालोपत्रे गर्न नसकिए पनि तल्लो खण्डमा कालोपत्रे गर्न शुरु भएको छ ।” हिउँ पग्लने उपल्लो खण्डमा समेत कालोपत्रे थालिने निसिखोलाको पातीहाल्नेदेखि जाउले खण्डको साढे दश किलोमिटर सडक निर्माणको जिम्मा पाएको इसिआइ कन्काइ निर्माण सेवाले बताएको छ ।

मध्यपहाडी लोकमार्गको ४१ किलोमिटर खण्डमा आयोजनाको मापडण्डअनुसार सडक चौडा पार्ने काम सकिएको छ । आगामी असार मसान्तसम्म निसीखोला खण्डमा कालोपत्रेको काम सम्पन्न हुने देखिए पनि बागलुङ जिल्ला सदरमुकामदेखि बिँहु घोडाबाँधेसम्मको २५ किलोमिटर सडक निर्माणमा ढिलाइ भइरहँदा पश्चिम बागलुङका जनताले निरन्तर सास्ती खेप्दै आइरहेका छन् । निर्माण सम्पन्न हुनुपर्ने लामो समय भइसक्दासमेत ठेकेदार कम्पनीको लापर्वाहीका कारण उक्त खण्डमा निर्माणले गरी लिन सकेको छैन । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डमा पर्ने १४२ किलोमिटर सडकमध्ये ९० किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने ५२ किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेको छ । जसअन्तर्गत निसीखोला खण्डको ४१ किमि सडक असार मसान्तसम्म कालोपत्रे भएका बागलुङ बजारदेखि बिहुँ घोडाबाँधे सडकको २५ किलोमिटर सडकमात्र कालोपत्रे गर्न बाँकी रहनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology