• Monday 27th of July 2026

पोखरामा लक डाउनको प्रभाव


  • गोकर्णेश्वर अनलाइन

सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि आजदेखि शुरु गरेको लक डाउनको प्रभाव पोखरामा परेको छ । लक डाउनका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार पूर्ण रुपमा नै बन्द भएको छ । सरकारले आज बिहान ६.०० बजेदेखि यही चैत १८ गते साँझ ६.०० बजेसम्मका लागि मुलुकभरका अत्यावश्यकबाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरेको हो । यसअघि पोखराका विभिन्न स्थानबाट प्रातःभ्रमणका लागि घरबाट निस्कनेहरूका कारण चहलपहल हुने गरेको यहाँका सडक तथा स्थान आज भने सुनसान बनेका छन् । प्रातःभ्रमणमा फाट्टफुट्ट निस्कनेहरूलाई सुरक्षाकर्मीले सम्झाएर घरमा नै सुरक्षित भई बस्न आग्रह गर्दै फर्काउने गरेको कास्की प्रहरीका प्रवक्ता राजकुमार केसीले जानकारी दिनुभयो ।

सुरक्षित रही समाचार सम्प्रेषण गर्न आग्रह

नेपाल पत्रकार महासङ्घ कास्कीले सुरक्षित रही सूचना सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरेको छ । शाखाका तर्फबाट सञ्चारकर्मी एवम् सञ्चारगृहका लागि अपिल जारी गर्दै अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार कोरोना सङ्क्रमणविरुद्ध अग्रपङ्क्तिका योद्धा भएको उल्लेख गर्दै समाचार सम्प्रेषण गर्दा यसका लक्षण, सर्ने माध्यम एवम् बच्ने उपायबारे सही कुरा बुझेर जिम्मेवार पत्रकारिता गर्न आग्रह गर्नुभएको छ । सर्वसाधारण मानिसले बुझ्ने भाषामा सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्ने र अधुरो जानकारीले त्रास र सङ्क्रमितप्रति विभेद बढाउने उल्लेख गर्दै अपिलमा आधिकारिक स्रोत र विषयविज्ञबाट मात्र सूचना लिन आग्रह गरिएको छ । कसैलाई पनि कोरोना भाइरसको शङ्का भएकै आधारमा र अस्पतालमा भर्ना भएकै भरमा कोरोना सङ्क्रमित वा कोरोना शङ्कास्पद जस्ता शब्द प्रयोग नगर्न र सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा असर नपुग्ने गरी समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ । सङ्क्रमणबाट बच्नका लागि गर्नुपर्ने प्रभावकारी रोकथामका उपायका बारेमा सूचना सम्प्रेषण गर्न र शीघ्र स्वास्थ्य जाँच र उपचारले हुने फाइदाका बारेमा समाचार प्रकाशन प्रसारण गर्न महासङ्घले भनेको छ ।

कार्यालय एवम् समाचार सङ्कलनस्थलमा जाँदा रोकथामका आधारभूत उपाय अपनाउन आग्रह गर्दै महासङ्घले सकेसम्म इमेलमार्फत रिपोर्ट फाइल गर्ने, अत्यावश्यकबाहेकका भेटघाट नगर्ने, प्रत्यक्ष भेटघाट हुने पत्रकार सम्मेलन जस्ता कार्यक्रमका सट्टामा प्रेस विज्ञप्ति र सामाजिक सञ्जालको प्रयोग गरी प्रत्यक्ष प्रसारण तथा भिडियो कन्फरेन्स जस्ता वैकल्पिक उपाय अपनाउन आग्रह गरेको छ ।

महासङ्घले सञ्चारगृहलाई सम्भव भएसम्म घरबाटै काम गर्ने वातावरण मिलाउन, समाचार र समाचारमूलक कार्यक्रमबाहेकका मनोरञ्जनात्मक÷साङ्गीतिक कार्यक्रम सकेसम्म कटौती गरी पत्रकार –कर्मचारीलाई बिदा दिन, पत्रपत्रिकाका हकमा पनि प्रत्यक्ष वितरणको सट्टा वैकल्पिक उपाय खोज्न र अनलाइन माध्यमबाट सूचना अद्यावधिक गर्न आग्रह गरेको छ । सञ्चारगृहकाम कार्यालय एवम् समाचार कक्षमा स्प्रे गरी ‘डिस्इन्फेक्स’ गर्दै सेनिटाइजर अनिवार्य प्रयोग गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ । महासङ्घले सञ्चारकर्मीको पारिश्रमिक तथा सेवासुविधा नियमित रूपमा उपलब्ध गराउन तथा पत्रकार –कर्मचारीको सुरक्षालाई प्राथमिकता दिन सञ्चारगृहसँग आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology