• Monday 27th of July 2026

रमितेहरुले नै ‘लकडाउन’को अवज्ञा गर्छन् : प्रहरी


  • गोकर्णेश्वर अनलाइन

नेपाल सरकारले नोबेल कोरोना भाइरसको रोकथाम तथा प्रतिकार्यका लागि मुलुकभर ‘लकडाउन’ गरेको छ । ‘लकडाउन’को पालना गर्न सरकारले निर्देशन दिनाका साथै त्यसको कार्यान्वयनका लागि सबैमा अपिल गरेको छ । यद्यपि सरकारले गरेको ‘लकडाउन’ को पहिलो दिनको निर्देशन उल्लङ्घन भने मुलुकका धेरै ठाउँमा भयो । त्यसबाट कर्णाली प्रदेश पनि अछुतो रहेन । नेपाल सरकारले चैत ११ देखि १८ गतेसम्मका लागि उर्दी गरेको ‘लकडाउन’ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बढी अवज्ञा भएको प्रहरीले जनाएको छ । मङ्गलबार ‘लकडाउन’ उल्लङ्घन गर्ने यहाँका ३३५ सवारी साधन र चार व्यक्ति प्रहरी नियन्त्रणमा परे । नेपाल प्रहरीले चैत ११ देखि १८ गतेसम्म कोरोना प्रकोपबाट बच्न नेपाल सरकारले मुलुकभर गरेको ‘लकडाउन’ बारे सूचना गरिरहँदा पनि नागरिक र सवारी साधनले त्यति वास्ता नगरेकाले नियन्त्रणमा लिन बाध्य भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो ।

“प्रहरी जोखिम मोलेर नागरिकलाई सडकबाट सूचना, सुझाव र सुरक्षा दिन्छ । त्यसलाई सुनेर लागू गर्नुको साटो धेरै रमिते बन्छन्”, प्रहरी निरीक्षक रायमाझीले भन्नुभयो, “घरमै बस्नुहोस् भन्छौँ तर फुत्तफुत्त सडकको रमिता हेर्न आउँछन् ।” नागरिकले आफ्ना लागि प्रहरी र स्वास्थ्यकर्मीको भूमिका बढी सक्रिय र महत्वपूर्ण छ भन्ने बुझ्दा पनि त्यसको बेवास्ता गरेको उहाँले दुखेसो पोख्नुभयो ।

“हामीलाई विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीमा घरमै बस्ने अवसर छैन । दायित्व पूरा गर्न सडकमा बाध्य भएर गएका छौँ र जानुपर्छ नै”, उहाँले भन्नुभयो, “तर घरमै बस्नेहरु बेलाबेलामा रमिते बनेर सडकमा आउँदा नागरिककै सुरक्षार्थ खटिएको प्रहरीलाई थप सास्ती हुन्छ । यस्तो अवस्थामा हाम्रो कहर कसले बुझिदिने ?” सरकारले नागरिककै जीउधन सुरक्षाका लागि गरेको ‘लकडाउन’ को पालना गर्नु हामी सबैको कर्तव्य भएको जनाउनुभएका उहाँले सुर्खेतमा नागरिकले सरकारले गरेको निर्देशनको पालना नगर्दा ‘लकडाउन’को पहिलो दिनमा मोटरसाइकल २६७, ट्रक ३९, जिप÷हाइस÷फोर्स ३१, बस १९, अटो ७ र ट्र्याक्टर २ गरी जम्मा ३३५ सवारी लिइएको बताउनुभयो । आज पनि माइकिङबाट नागरिकलाई सूचना र सुझाव दिइसकिएकाले कसैले अटेर गरे सिधै लिएर कारवाही गर्ने उहाँको भनाइ थियो ।

भारतबाट फर्केका ५७ लाई क्वारेन्टाइनमा

भारतबाट नेपालका विभिन्न नाका हुँदै सुर्खेत भित्रिएका ५७ जनालाई कर्णाली प्रदेश सरकारले निगरानी कक्ष (क्वारेन्टाइन) मा राखेको छ । उनीहरु आज बिहान २ः०० बजे नेपालगञ्ज हुँदै सुर्खेत भित्रिएका थिए । भित्रिएकाहरुमा ५३ पुरुष र चार महिला रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीले जानकारी दिनुभयो । “कोरोनाको महामारीलाई ध्यानमा राखेर क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले उनीहरुलाई वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित अशोक होटलमा राखिएको छ ।” सूचना अधिकारी रायमाझीले भन्नुभयो, “कर्णाली प्रदेश सरकारको सहयोगमा उनीहरुलाई २७ कोठा भाडामा लिएर राखिएको हो ।” सुर्खेतको खुलामञ्चमा उत्तरपश्चिम पृतना हेडक्वाटर सुर्खेतले क्वारेन्टाइन निर्माण कार्य जारी रहेको हुँदो उनीहरुलाई सरकारले होटेलमा व्यवस्था गरेको उहाँले बताउनुभयो । कर्णाली प्रदेश सरकारको मङ्गलबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले भारतलगायत विभिन्न देशबाट स्वदेश फर्केर बाटोमा अलपत्र परेका नागरिकको उद्धारका लागि १११० नम्बरको हटलाइन सेवा शुरु गरेलगत्तै ५७ जना सम्पर्कमा आएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology