• Monday 27th of July 2026

मुसलमानले दूरी बनाएर नमाज पढ्नुपर्ने


  • गोकर्णेश्वर अनलाइन

शहरी क्षेत्रमा मानिसमा चेतनाको अभिवृद्धिले एकापसमा दूरी बनाएर बसेका छन् भने ग्रामीण क्षेत्रमा अझै भिडभाडमा नै बस्ने गरेका छन् । ग्रामीण क्षेत्रका मानिसले मास्क पनि अलि कमै लगाएको पाइन्छ । खासगरी ग्रामीण क्षेत्रका मानिसहरु चिया पसलमा घण्टौँ गफ गरेर बस्ने र एकार्कादेखि कति फरकमा बस्ने हो भन्ने पालना नगरेकाले समस्या जटिल देखिएको छ । यो समस्या हरेक गाउँमा देखिएको छ । खासगरी पहाडी बाहुल्य नभएको गाउँमा यो समस्याले कुन बेला विकराल रुप लिन लिन्छन् भन्न सक्ने अवस्था छैन । उनीहरुले अहिले पनि गाउँघरमा लाग्ने हटिया बजारमा सामूहिक रुपमै जाने र भीडभाडमै आफ्ना सामान खरीद गर्ने गर्नाले भाइरस एकबाट अर्कामा सजिलै सर्न सक्ने सम्भावना रहन्छ । मुसलमानले मस्जिदमा प्रार्थना गर्दा पनि दूरी राखेर गर्नुपर्ने बुद्धिजीवी बताउँछन् । प्रार्थना र मलामी जाँदा सामूहिक रुपमा एकापसमा जोडिएर गर्ने परम्परा र धार्मिक मान्यतालाई केही दिनका लागि विश्राम दिनुपर्ने तिनको भनाइ छ ।

सुनसरी, सोनापुर क्षेत्रमा मुसलमानको प्रार्थना गर्ने १० मस्जिदमध्ये चार वटामा शुक्रवार नमाज पढ्ने गरिए पनि अहिले कोरोना भाइरसको महामारीका कारण सबै मस्जिदमा शुक्रबार नमाज पढ्न आदेश भए पनि दूरी कायम गरेर पढ्न भने सूचना जारी नभएको सोनापुर गाविसका पूर्वअध्यक्ष हाजी मोहम्मद अब्दुलले जानकारी दिनुभयो । सुनसरीका करीब ५० गाउँमा प्रत्येक गाउँ दुईदेखि १० मस्जिद छन् । सँगै बसेर पढ्दा रोग फैलिन कति पनि समय नलाग्ने भएकाले मुसलमान सचेत हुुनुपर्ने अब्दुल बताउनुहुन्छ । सुनसरी सोनापुरकै हाजी सतिमका छोरा मोहम्मद मुस्ताक कतारबाट बिदा मनाउन घर आए पनि उहाँले कुनै जाँच गराउनुभएको छैन । यसबाट धेरै मानिसमा शङ्का उत्पन्न भइरहेकाले प्रहरीले यसमा विशेष ध्यान दिएर तिनलाई क्वाइरेन्टाइनमा लैजानुपर्ने नाम नबताउने शर्तमा एक स्थानीयवासीले माग गर्नुभयो ।

सुनसरी चाँदबेला निवासी हाजी सफिम हम्मदले पैगम्बर हजरत मुहम्मदले पनि आपत्विपद्मा होशियार भएर बस्नू भन्ने सन्देश दिनुभएको उल्लेख गर्दै मुसलमानले पनि कोरोनाबाट कसरी बच्न सकिन्छ भन्ने नियम पालना गर्नु जरुरी छ भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology