• Monday 27th of July 2026

राधेराधेको १७ तले भवनमा खाद्यान्न भण्डारण


  • गोकर्णेश्वर अनलाइन

—रमेश गिरी कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेस्थित १७ तले खाली भवनमा खाद्यान्न भण्डार गरिने भएको छ । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसको उच्च जोखिमबाट बच्नका लागि नेपाल सरकारले आगामी २५ गतेसम्मका लागि थप गरेकोे लकडाउनका अवधि लम्बिदँै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन यहाँ खाद्य सामाग्री भण्डारण गर्ने भएको हो । उक्त भवनमा नेपाली सेनाको नेतृत्वमा अत्यावश्यक खाद्यान्नहरु भण्डारण गर्ने र अभाव भएमा जिल्लाका चारैवटै नगरपालिकामा वितरण गर्नेगरि खाद्यान्न भण्डारण गर्ने भएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेल, प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, सशस्त्र प्रहरी दुवाकोटका प्रहरी उपरीक्षक विश्वप्रसाद भट्टराईसहित संयुक्त सुरक्षा फौजको टोलीले उक्त भवनको अनुगमन गरि खाद्यान्न भण्डारका लागि छनौट गरेको हो । दुर्गाप्रसाद न्यौपानेको राधेराधेस्थित प्रयोगविहीन उक्त १७ तले भवन हालको सङ्कटको समयमा प्रयोग गर्न माग गर्दा न्यौपानेले विपद्मा निःशुल्क प्रयोग गर्नेगरि सुरक्षा फौजलाई स्वीकृति दिनुभएको हो ।

भवन प्रयोग गर्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय भक्तपुरले न्यौपानेलाई पत्राचार गरिसकेको छ । खाद्यान्न स्टोर तथा वितरणका लागि प्रयोग गरिने भएपछि नेपाली सेनाको वीरदल गण सूर्यविनायक ब्यारेकबाट खटिएका सेनाको टोलीले भवनको सरसफाई गरि तयारी अवस्थामा राखेको वीरदल गणका गणपति शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । यसका लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले ५० थान त्रिपाल उपलब्ध गराएको छ । उक्त त्रिपाल ओछयाउने र खाद्यान्न भण्डारणका लागि तयारी अवस्थामा राखिएको छ । लकडाउन लम्बिदैँ जादा खाद्य सामग्रीको अभाव भएमा जिल्लाका चारवटै नगरपालिकासँग समन्वय गरि सम्बन्धित नगरपालिकाको वडा कार्यालयमार्फत नागरिकलाई खाद्य सामग्री वितरण गर्न सकिने तयारी गर्न लागिएको वीरदल गणका गणपति पौडेलले जानकारी दिनुभयो । यसअघि २०७२ सालको महाभूकम्पको विपद्मा पनि नेपाली सेनाले विवादरहित रुपमा जनताको सेवामा खटिएको र अहिले स्वास्थ्य सङ्कटका बेलामा पनि खरिपाटीमा क्वारेन्टाइन निर्माणदेखि कोरोना भाइरस नियन्त्रणको अभियानसँगै पिपीइ, मास्क, ग्लोभ्स् लगायतका सामग्रीको व्यवस्थापनमा नेपाली सेनाको बीरदल गण सक्रिय हुँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology