• Monday 27th of July 2026

कोभिड–१९ : तरकारी पसल बन्द


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरस (कोभिड–१९ ) को सम्भावित जोखिम नियन्त्रणका लागि लागू गरिएको लकडाउनका अवधिमा खुल्ला रहेका तनहुँको सदरमुकाम दमौलीस्थित तरकारी पसल आजदेखि बन्द गरिने भएको छ । व्यास नगरपालिका–३ मा रहेका तरकारी पसलमा लकडाउनको क्रममा लापरवाही भएकाले लकडाउन अवधिभर तरकारी पसल बन्द गर्ने निर्णय भएको हो । व्यास नगरपालिका–३ को आज बसेको बैठकले सुरक्षा सतर्कता र सामाजिक दूरी कायम गर्ने विषयमा चरम लापरवाही भएको हुँदा लकडाउन अवधिभर तरकारी पसल बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उपभोक्तालाई तरकारी उपलब्ध गराउन जिल्लाभित्रको उत्पादन ट्रकमा राखेर टोल टोलमा र घरघरमा आपूर्ति गरिनेछ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म अत्यावश्यक खाद्यान्न पसल खुल्ला गर्ने निर्णय बमोजिम तरकारी पसल उक्त समयमा खुल्ला रहँदै आएको थियो । व्यास नगरपालिका–३ स्थित शवदाहघाटमा मलामी जाँदा सङ्ख्या कम र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ । साथै वडाभित्र हालसालै विदेशबाट आई घरमा बस्नुभएका व्यक्तिहरुको स्वास्थ्य जाँच र रेखदेखका लागि सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउने निर्णय गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । वडा कार्यालयले दैनिक ज्यालामजदुरी गरी छाक टार्ने व्यक्तिहरुलाई खाद्यान्न वितरण गर्नका लागि टोल विकास संस्थामार्फत् विवरण सङ्कलन शुरु गरेको छ ।

क्वारेन्टाइनमा दुई जना मात्र

चैत १ गतेदेखि विदेशबाट फर्किनेको सङ्ख्या ६ सय ८७ जना पुगेको छ । जिल्लाका स्थानीय तहले सङ्कलन गरेको विवरण अनुसार यसअवधिमा ६ सय २६ पुरुष र ६१ जना महिला विदेशबाट फर्किएका छन् । तीमध्ये दुई जना मात्रै स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेका छन् । व्यास नगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा चैत ६ गते दुवईबाट आएका एक महिला र एक पुरुषलाई राखिएको छ । उनीहरुमा हालसम्म कुनै पनि लक्षण नदेखिएपनि स्वेच्छाले नै क्वारेन्टाइनमा बसेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “विदेशबाट फर्किएकाहरुलाई घर घरमा पुगेर भेट्ने क्रममा विद्यालयमा सुरक्षित रुपमा क्वारेन्टाइन बनाइएकाले त्यहाँ गएर बसिदिन आग्रह गरेका थियौ,” उहाँले भन्नुभयो, “हाम्रो आग्रह स्वीकार गरेर उहाँहरु बस्न थाल्नुभएको छ ।” वडाभित्र विदेशबाट फर्किन उनीहरु सहित सात जना छन् । बाँकी भने घरमै बसिरहेको र उनीहरुको पनि निगरानी गरिएको उहाँले । विद्यालयमा १३ श्ययाको क्वारेन्टाइन बनाइएको छ । क्वारेन्टाइनमा वाइफाईको व्यवस्था गरिएको छ भने स्वास्थ्यकर्मी पनि खटाइएको छ ।

दुई जना बाहेक अन्य सबैजना भने घरमै बसिरहेका छन् । विदेशबाट फर्किएकाहरु होम क्वारेन्टाइनमा नै सुरक्षित रुपमा बसेको नोभल कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका दश वटै स्थानीय तहले विदेशबाट फर्किने व्यक्तिहरुको विवरण सङ्कलन गरिरहेको छ । भानु नगरपालिकामा ६२, व्यास नगरपालिकामा १ सय ५३, शुक्लागण्डकी नगरपालिकामा १ सय २४, भीमाद नगरपालिकामा १ सय १२, म्याग्दे गाउँपालिकामा ३१, ऋषिङ गाउँपालिकामा ८३, देवघाट गाउँपालिकामा २९, घिरिङ गाउँपालिकामा ६२, बन्दीपुर गाउँपालिकामा १५ र आँबुखैरेनी गाउँपालिकामा २० जना विदेशबाट फर्किका छन् । “मङ्गलबार बेलुकासम्म प्राप्त विवरण अनुसार यी व्यक्तिहरु घरमै बसिरहेका छन्,” उहाँले भन्नुभयो, “थप व्यक्तिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।”

जिल्लाका १६ स्थानमा क्वारेन्टाइन बनाइएको छ । उक्त क्वारेन्टाइनमा १ सय २७ जनाको क्षमता रहेको छ । अधिकारीका अनुसार व्यास नगरपालिकामा १, शुक्लागण्डकी नगरपालिकामा १, भीमाद नगरपालिकामा १, म्याग्दे गाउँपालिकामा १, ऋषिङ गाउँपालिकामा २, देवघाट गाउँपालिकामा १, बन्दीपुर गाउँपालिकामा ६, आँबुखैरेनी गाउँपालिकामा २ क्वारेन्टाइन बनाइएको छ । जिल्लाका विभिन्न अस्पतालमा ४६ शैय्याको आइसोलेसन कक्ष बनाइएको छ । म्याग्दे गाउँपालिकामा पाँच, व्यास नगरपालिकामा आठ, शुक्लागण्डकी नगरपालिकामा २९ र बन्दीपुर गाउँपालिकामा आठ शैय्याको आइसोलेसन कक्ष तयारी अवस्थामा छ । जिल्लामा भारत, दुवई, मलेसिया, माल्दिभ्स, जापान, कतार, श्रीलङ्का, अष्ट्रेलिया लगायतबाट घर फर्किने धेरै रहेका छन् । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले विदेशबाट फर्किनेलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई अनुरोध गरिएको जानकारी दिनुभयो ।

२१ एम्बुलेन्स तयारी अवस्थामा कोभिड–१९ का शङ्कास्पद बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान जिल्लाका सबै स्थानीय तहमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । दश वटै स्थानीय तहमा २१ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो । भानु नगरपालिकामा दुई, व्यास नगरपालिकामा पाँच, म्याग्दे गाउँपालिकामा एक, शुक्लागण्डकी नगरपालिकामा चार, भीमाद नगरपालिकामा दुई, घिरिङ गाउँपालिकामा एक, ऋषिङ गाउँपालिकामा एक, देवघाट गाउँपालिकामा एक, बन्दीपुर गाउँपालिकामा एक, आँबुखैरेनी गाउँपालिकामा तीन एम्बुलेन्स रहेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology