• Monday 27th of July 2026

दुर्गममा हवाईमार्फत खाद्यान्न पठाउँदै कर्णाली सरकार


  • गोकर्णेश्वर अनलाइन

हिमाली जिल्लामा खाद्यान्न अभाव हुन नदिन कर्णाली प्रदेश सरकारले हवाई यातायातमार्फत खाद्यान्न पठाउन शुरु गरेको छ । कर्णालीका हुम्ला, डोल्पा र मुगु जिल्लामा चल्ने निजी विमानबाट सरकारले खाद्य ढुवानी गर्न लागेको हो । हुम्लाका साथै डोल्पामा खाद्यान्न निर्यातको एक मात्र विकल्प हवाई सेवा नै भएकाले आकाश मार्गबाट खाद्य पठाइएको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं आपूर्ति समितिका संयोजक नन्दसिंह बुढाले जानकारी दिनुभयो । विश्व महाआरीका रुपमा देखिएको नोेवेल कोरोना भाइरसको प्रतिकार्य तथा रोकथामका लागि नेपाल सरकारद्वारा घोषित लकडाउनमा नागरिकको खाद्य अधिकार सुरक्षित गर्न सडक सञ्जालको सहज पहुँच नभएका जिल्लामा सीता, तारा, समिटलगायतका निजी एयरलाइन्सबाट कर्णाली सरकारले खाद्य आपूर्ति गरेको मन्त्री बुढाले बताउनुभयो । उहाँका अनुसार यो समयमा कुनै ठाउँमा खाद्य अभाव भएको खबर नआओस् भनेर सरकार सक्रिय भएर लागेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश सुर्खेतका कार्यालय प्रमुख भीमबहादुर थापाले हुम्लाको खाद्य अभाव पूर्ति गर्न हाल २०० र मुगुमा १०० क्विन्टल चामल पठाइएको राससलाई बताउनुभयो । “डोल्पालगायतका अन्य जिल्लामा अहिले खाद्य सञ्चित नै छ”, प्रमुख थापाले भन्नुभयो, “सम्बन्धित जिल्लाले खबर पठाए हामी जतिबेला पनि पठाउन तयारी अवस्थामा छौँ ।” रासससँग कुरा गर्दै कार्यालय प्रमुख थापाले भन्नुभयो, “प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको १, ५, ९, १२ र १३ वडामा ५०० क्विन्टल वितरण गरिएको छ । आपूर्ति समितिले कहीँकतै अभाव हुन दिएको छैन । हामीसँग हाल ४४ हजार क्विन्टल खाद्यान्न सञ्चित छ । यसले कर्णालीको करिब १८ लाख जनसङ्ख्यालाई करिब तीन महिना खान पुग्छ । मूलत : यो व्यापार कम्पनीको जगेडा खाद्य मात्र हो । यही परिमाणको चामल निजी क्षेत्रसँग पनि छ ।” उहाँले यसअघि वीरेन्द्रनगरका केही बस्तीमा आफैँ पुगेर खाद्य डेलिभरी गरिएको बताउनुभयो । प्रमुख थापाका अनुसार खाद्य आपूर्तिलाई सहज, चुस्त, छरितो र प्रभावकारी बनाउन आपूर्ति समिति निर्वाध लागि परेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology