• Monday 27th of July 2026

अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुग्यो


  • गोकर्णेश्वर अनलाइन

न्यूयोर्क, २८ चैत (रासस–एपी) –– कोरोनाभाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ । विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन लागेको कोरोनाभाइरसका कारण अमेरिका सहित विश्वका धेरै देश बन्दाबन्दी (लकडाउन) को अवस्थामा छन् । अमेरिकी सरकारले बिहीबार सार्वजनिक गरेको विवरणमा गत साता बेरोजगारी प्रोत्साहन भत्ताका लागि ६६ लाख कामदारले आवेदन दिएको उल्लेख छ । यसअघि नै १ करोडभन्दा बढीले दुई साताको अवधिमा रोजगारी गुमाएका थिए । यसको अर्थ प्रत्येक १० जना अमेरिकी कामदारमध्ये १ जनाले रोजगारी गुमाएका छन् । यो संख्या सन् १९४८ यताकै सबैभन्दा ठूलो हो । जानकारहरुका अनुसार अझै धेरै रोजगारी गुम्ने खतरा देखिएको छ । अप्रिलमा बेरोजगारी दर १५ प्रतिशत पुग्नेछ, र यो अवस्था विश्वव्यापी मन्दी (ग्रेट डिप्रेसन) को अवस्थापछि पहिलो पटक देखिएको हो । मिजौरीको कन्सास शहरकी ५७ वर्षीय शारोन ब्रिजम्यानले दुई साता अघि रोजगारी गुमाउनु भयो ।

उहाँ घरबारविहीन मानिसका लागि सेवा उपलब्ध गराउने एउटा गैरसरकारी संस्थामा कार्यरत हुनुहुन्थ्यो । उहाँ सरकारले उपलब्ध गराएको बेरोजगारी प्रोत्साहन भत्ताको पर्खाईमा हुनुहुन्छ । “फेरि काम नपाइने हो कि भन्ने मलाई ठूलै चिन्ता लागेको छ,” उहाँले भन्नुभयो । “मैले काम गर्ने मानिसहरुको अवस्था अझ कस्तो होला ?” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो संकटपछि तर्थतन्त्रमा तुरुन्तै सुधार भइहाल्ने अवस्था छैन भनेर अडकलबाजी गर्नेहरुप्रति तिखो टिप्पणी गर्दै अमेरिकी अर्थव्यवस्था तत्कालै सही ठाउँमा आउने विश्वास व्यक्त गर्नु भएको छ । “मेरो विचारमा अर्थतन्त्र राम्रैसँग पुनर्जीवित हुनेछ ।” राष्ट्रपति ट्रम्पले बिमान सेवालाई कसरी मद्दत गर्न सकिएला भनेर आफूले अर्थमन्त्री र यातायात मन्त्रीसँग विचारविमर्श गरेको बताउँदै यस क्षेत्रमा सुधार ल्याउन सप्ताहान्तमा एउटा प्रस्ताव अघि बढाउन लागेको जानकारी दिनुभयो । अमेरिकी केन्द्रीय बैंकले पनि घरायासी र व्यवसायलाई लक्षित गरी २३ खर्ब डलर बराबरको सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology