• Tuesday 28th of July 2026

खै!कति दिनमा पुगिन्छ रोल्पा ?


  • गोकर्णेश्वर अनलाइन

–विक्रम गिरी नयाँ वर्षमा घर जाने दुई महिना अघिदेखिकै योजना थियो –उहाँको । एक्कासी कोरोना भाइरसको जोखिम आइलाग्यो । लगत्तै लकडाउन शुरु भयो । केही समयका लागि होला भनेर उहाँ लकडाउन खुल्ने आश गरेर बस्नुभयो । एक हप्ता बित्यो, दुई हप्ता गयो, तीन हप्ता हुँदा पनि लकडाउन खुलेन । लकडाउन चाँडै खुल्ला भन्ने पत्यार भएन । यसमा उहाँले मन मार्नु भयो । अनी हिँडैर घर फर्कने निर्णयमा पुग्नुभयो । रोल्पा त्रिवेणी गाउँपालिका–७ का अजविर विकका लागि घर फर्कने मन बनाउनु सहज भने पटक्क छैन । उहाँलाई थाहा छ घर पुगिन्छ वा पुगिदैन । तैपनि हिँडेरै रोल्पा पुग्ने भन्दै यात्रामा निस्कनुभयो । काभ्रेपलाञ्चोकको पाँचखालबाट हिँडेका विकलाई काठमाडौँको नैकाप पुग्नै दुई दिन लाग्यो । “खै कति दिनमा पुगिन्छ रोल्पा, ठम्याउन सकेको छैन”, शुक्रबार दिउँसो नैकापको उकालोमा थकाइ मार्दै गरेको अवस्थामा भेटिनुभएका विकले भन्नुभयो, “हाम्रा लागि गाडी कहाँबाट मिल्ला र, हिँडेरै जाने अठोट गरेका छौँ ।” उहाँसँगै रोल्पा त्रिवेणी–७ कै देवराज पुनमगर, हर्कबहादुर घर्ती पनि हुनुहुन्थ्यो । विकलाई १६ वर्षीय पुनमगरको चिन्ता छ ।

“केटो आलोकाँचो नै छ, रोल्पासम्म हिँड्न सक्ला की नसक्ला भन्ने दोमन भएको छ”, उहाँले देवराजप्रति इशारा गर्दै भन्नुभयो , “तपाइहरुसँगै हिँड्न सकिहाल्छु भन्यो, त्यही भएर सँगै हिँडाएको ।” तीनै जना एउटै गाउँका हुन् । उनीहरु गत वर्ष मङ्सिरमा कामको खोजीमा काठमाडौँ आएका हुन् । काम खोज्दै जाँदा पाँखखाल पुगे । त्यहाँ घर निर्माणको काम गर्न थाले । देवराज र हर्कबहादुरभन्दा ५६ वर्षीय विक घर बनाउने कामका खप्पिस हुनुहुन्छ । त्यसैले उहाँले दैनिक रु एक हजारको ज्लादारीमा काम गर्दै आउनु भएको थियो । “कमाइ राम्रै थियो, यो महामारी आएर बर्बाद पा¥यो”, विकले भन्नुभयो , “यसबीचमा रु ४० हजार जति घर पाए, अरु पैसो साथमै लिएर घर फर्कने मन बनाएको थिए ।” पुनमगर र घर्तीले विकको भन्दा कम ज्यालामा काम गर्दै आएका थिए । दुवैजनाले पनि अहिलेसम्म कमाएको केही रकम घर पठाउन भ्याउनुभएको रहेछ । तीनै जना दुई दिनमै थाकिसकेको देखिन्छन् । उनीहरुले सडकमा केही बेर ट्रकलाई रोक्ने प्रयास गरे । “कोही पनि रोक्न मान्दैनन्”, घर्तीले भन्नुभयो, “केही परसम्म लगिदिए बाटो काट्न सजिलो हुन्थ्यो ।” नैकाप आइपुग्दासम्म बाटोभरी खटिएका प्रहरीको खप्की खानु परेको उनीहरु बताउँछन् । “प्रहरीले जताबाट आएको त्यतै फर्किनु भनेर हप्काए”, घर्तीले भन्नुभयो ।

प्रहरीसित गुहार गरी गरी यहाँ आइपुगेको उहाको भनाइ थियो । सरकारले लकडाउनमा कोहीलाई पनि घर बाहिर ननिस्कन भनेको छ । अबको बाँकी गन्तब्यमा पनि रोल्पालीलाई हिँडेरै घर पुग्न सहज हुने छैन । प्रहरीको कुटाइ खाइने हो कि भन्ने चिन्ता उनीहरुलाई छ । “जे परे पर्ला, अब पाँखखाल त कुनै पनि हालतमा फर्कन्नौँ”, उनीहरु भन्दै थिए । रोल्पासम्म पुग्नका लागि तीनै जनाले लुगाफाटो, ओड्ने कम्बल, चिउरा र चाउचाउसमेत साथमा बोकेका छन् । “चिउरा र चाउचाउको भरमा पुगिएलाकी भन्ने छ”, विकले भन्नुभयो , “पैसोको चिन्ता छैन, तीनै जनाले बोकेका छौँ, बाटोमा किनेर खान पाइन्छ की पाइन्न भन्ने चिन्ता छ ।” सानो झोलामा उनीहरुले केही प्याकेट चाउचाउ र केही किलो चिउरा पाँखखालबाटै किनेर ल्याएका छन् । जता जता पाइन्छ उतै उतै किन्ने उनिहरुले योजना बनाएका छन् । तीनै जनाले मोवाइल बोकेका छन् । घरमा निरन्तर कुराकानी भइरहेको उनीहरुले बताए । घरका जहान परिवारले पनि गाडी नपाइए हिँडैर आउनु भन्ने सल्लाह दिएका छन् ।

त्यसले पनि उनीहरुलाई उर्जा मिलेको छ । “जति दिन लागे पनि हिँडेरै हाउनु, दुःख सुख घरमै काटौँला भनेका छन्”, श्रीमतीको सल्लाह सुनाउँदै विकले भन्नुभयो । यहाँ बसेर पनि लकडाउन खुल्ने छाँटकाँट नदेखेपछि बरु हिँड्दै जाँदा बाटोमा जे जे पर्ला बेहोरौँला भनेर पाँचखालबाट निक्सकेको उनीहरुले बताए । “गाउँका अरु पनि टाढा टाढाबाट हिँडेरै पुगेका न रे”, घरबाट आएको खबर सुनाउँदै विकले भन्नुभयो, “हामी हिँडेरै पुग्न कसो नसकौँला र ?” तीनै जनाको अवस्था देखेर नैकापका स्थानीयवासीले केही बेरसम्म त्यहाँ फाट्टफुट्ट चल्दै गरेका ट्रकलाई रोकाउन प्रयास पनि नगरेका होइनन् । ट्रकका चालक कोही पनि रोल्पालीहरुलाई ट्रक चढाउन तयार भएनन् । “आगे देखा जाएगा’ भन्दै तीनै जना झिटीगुन्टा बोक्दै थानकोटतर्फ अगाडि बढे ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology