• Tuesday 28th of July 2026

चिकित्सकमाथि कुटपिट गर्ने दोषीलाई कारवाही गर्न माग


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनमा अतिआवश्यक काम गर्ने चिकित्सकलाई कुटपिट गर्ने दोषीलाई कारवाही गर्न माग गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा घटनाका दोषी प्रहरीलाई कानूनबमोजिम कारवाही गर्न, घाइतेको निःशुल्क उपचार गर्न तथा सम्पूर्ण प्रहरीलाई संयमित भई कार्य गर्न आयोगले आग्रह गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अग्रपङ्क्तिमा रही कार्य गर्ने स्वास्थ्यकर्मीमाथि कुटपिट र दुव्र्यवहारले जनस्वास्थ्यको हालको सङ्कटको अवस्थामा उच्च मनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने भएकाले त्यस्तो कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्नसमेत विज्ञप्तिमा माग गरिएको छ । लकडाउन उल्लङ्घन गरेको आरोपमा यही वैशाख ३ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा शम्भु खनाल, डा तेजप्रकाश शाह र डा विकास शाहलाई आफ्नो काम सकेर घर फर्कने क्रममा प्रहरीले कुटपिट तथा दुव्र्यवहार गरेको थियो ।

आयोगसहित नेपाल बार एशोसिएशन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घ नेपालका प्रतिनिधि सम्मिलित आयोगको केन्द्रस्तरीय मानव अधिकार अवस्था अनुगमन समितिले अनुगमनबाट प्राप्त तथ्यअनुसार चिकित्सकले आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै त्यसको कुनै वास्ता नगरी प्रहरीले कुटपिट तथा दुव्र्यवहार गरेको र कुटपिट गरेको देखिएको छ । कुटपिटबाट डा तेजप्रकाशको दाहिने हात सुन्निएको र नीलडाम रहेको पाइएको छ । आयोगले सुनसरीमा बिरामीको उपचार गर्न हिँडेका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको, काठमाडौँको कलङ्कीमा औषधि किनेर फर्किएका व्यक्तिलाई कुटपिट गरी दुव्र्यवहार गरेको, सप्तरीमा सशस्त्र प्रहरीले सर्वसाधारणमाथि अमानवीय ढङ्गले कुटपिट गरेको, बैतडी, दार्चुलालगायतका जिल्लामा समेत प्रहरीले सर्वसाधारणमाथि दुव्र्यवहार गरेको पाइएको जनाएको छ । आयोगले लकडाउनको अवस्थामा सरकारले जारी गरेको निर्देशनको पालना गर्दा÷गराउँदा स्वास्थ्यकर्मी, पत्रकार, मानव अधिकारकर्मी तथा सर्वसाधारणप्रति संयमित र मर्यादित व्यवहार गर्नसमेत आयोग आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology