• Tuesday 28th of July 2026

अत्यावश्यक वस्तुको कृत्रिम अभाव


  • गोकर्णेश्वर अनलाइन

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा सिरहा जिल्लाका व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिने गरेको पाइएको छ । यहाँको लहानसहित गोलबजार, धनगढी, मिर्चैया, सदरमुकाम सिरहालगायतका बजारमा रहेका विशेषतः खाद्य वस्तुका पसलले सामानको कृत्रिम अभाव देखाएर बढी मूल्य लिने गरेको उपभोक्ताको छ । उपभोक्ताहरुले बढी मूल्य किन लिएको भनेर गुनासो गर्ने बित्तिकै व्यापारीको सहज जवाफ आउने गर्छ, “थोकमा माल नै पाइँदैन, हामीले पनि बढी मूल्य तिरेर ल्याउने गरेका छौँ”, व्यापारीको भनाइ उद्धृत गर्दै लहान नगरपालिका–७ का वीरेन्द्र साहले भन्नुभयो, “थोकमा सामान नपाइएपछि खुद्रामै बढी मूल्य तिरेर सामान ल्याउनुपर्ने भएकाले बढी मूल्यमा सामान बिक्री गर्नुपरेको छ ।”

व्यापारीले अत्यावश्यक चामल, दाललगायत वस्तुको कृत्रिम अभाव सिर्जना गरी किराना सामानमा मनपरी मूल्य लिने गरेको उहाँको गुनासो छ । सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाईँले उपभोक्ताका गुनासा आफूले पनि सुन्ने गरेको बताउँदै कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिने पसलको अनुगमन गरी कारवाहीको दायरामा ल्याइने बताउनुभयो । लकडाउनअघि बजार अनुगमन गर्दै आएका स्थानीय तह, घरेलु तथा साना उद्योग कार्यालयको भूमिका शून्य भएपछि पनि व्यापारीले कृत्रिम अभाव र मनपरी मूल्य लिने गरेको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology