• Monday 27th of July 2026

आर्थिक सहयोग नरोक्न विश्व स्वास्थ्य संगठनद्वारा अमेरिकासमक्ष आग्रह


  • गोकर्णेश्वर अनलाइन

जेनेभा, ११ वैशाख (रासस–एएनआई) –– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयासुसले बुधबार संयुक्तराज्य अमेरिकासमक्ष संगठनलाई प्रदान गरिँदै आएको आर्थिक सहयोग नरोक्न र पूर्ववर्ती निर्णयमा पुनर्विचार गर्न आग्रह गर्नु भएको छ । संगठनको मुख्यालय जेनेभामा आयोजित पत्रकार सम्मेलनका क्रममा महानिर्देशक टेड्रोसले संयुक्तराज्य अमेरिकाले संगठनका कार्यहरुलाई पुनः सहयोग गर्ने एवं मानिसको जीवन बचाउने कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले संयुक्तराज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई निरन्तर मद्दत गरिरहेको र अमेरिका नै संगठनलाई आर्थिक मद्दत गर्ने पहिलो नम्बरको मुलुक रहेको बताउँदै भन्नुभयो, “हामी अमेरिकाको त्यस सहयोगलाई भुल्न सक्दैनौं, र त्यसप्रति उच्च सराहना गर्दछौं ।”

इथियोपियामा अमेरिकी सहयोगकै कारण स्वास्थ्य प्रणालीमा सुधार हुन सकेको दृष्टान्त दिँदै निकै भावुक मुद्रामा महानिर्देशक टेड्रोसले भन्नुभयो, “मलाई आशा छ संयुक्तराज्य अमेरिकाले गरेको यो सहयोग अरुका लागि मात्र लगानी होइन, स्वयम् अमेरिकी जनताको स्वास्थ्यका लागि पनि हो ।” गत साता अमेरिकी ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस फैलिएका बारेमा सूचनाहरु लुकाएको र संगठनले चीनको पक्ष लिएको भन्दै संगठनलाई दिइआएको आर्थिक सहयोग रोक्ने घोषणा गरेको थियो । अमेरिकी अधिकारीहरुले संगठनको भूमिकाका बारेमा पुनः मूल्याँकन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । अमेरिकाले हाल विश्व स्वास्थ्य संगठनलाई वार्षिक करिब ५० करोड अमेरिकी डलर प्रदान गरिरहेको छ । चीनले डब्लुएचओलाई करिब ४ करोड डलर दिँदै आएको छ । कोरोनाभाइरसको जोखिम उच्च रहेपनि चीन र अरु मुलुकबाट अमेरिकातर्फ हुने यात्रामाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णयप्रति डब्लुएचओले आलोचना गरेको राष्ट्रपति ट्रम्पले आरोप लगाउँदै आउनु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology