• Saturday 25th of July 2026

बन्दाबन्दीमा अनलाइनबाट पढाइ


  • गोकर्णेश्वर अनलाइन

– जमुनावर्षा शर्मा बन्दाबन्दी (लकडाउन)का कारण पोखराका विभिन्न विद्यालय तथा क्याम्पसहरुले अनलाइनबाट पढाउन शुरु गरेका छन् । बन्दाबन्दीले विद्यार्थीको पठनपाठन एवं मनोविज्ञानमा समेत असर परेको भन्दै प्रविधिको प्रयोग गरेर पठनपाठन शुरु गरिएको हो । नेपालकै सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसले अनलाइन पढाइ शुरु गरेको छ । करिब १२ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत उक्त क्याम्पसमा सेमेष्टर प्रणालीअन्तर्गत सञ्चालित कक्षालाई अनलाइन माध्यमबाट पढाउन थालिएको क्याम्पस प्रमुख नन्दलाल अधिकारीले जानकारी दिनुभयो । अधिकारीले लामो समयको लकडाउनले समयमै निर्धारित कोर्ष नभ्याउने र उनीहरुमा मनोवैज्ञानिक असर पर्न सक्ने भएकाले क्याम्पसका प्रमुख, विभागीय प्रमुख र उच्चपदस्थ कर्मचारीसँगको परामर्शपछि अनलाइन कक्षा शुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार व्यवस्थापन, मानविकी, शिक्षा र विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गतका कक्षा जुम टेक्नोलोजीमार्फत पढाउन शुरु गरिएको हो । अनलाइन कक्षा सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयबाट निर्देशन आएको क्षेत्रगत व्यवस्थापन विभागका प्रमुख विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

पोखरा–११ फूलबारीमा रहेको सैनिक आवासीय विद्यालयले पनि अनलाइन पढाइ सञ्चालन गरिरहेको छ । यस विद्यालयले कक्षा ७ देखि १२ कक्षासम्मका विद्यार्थीलाई गुगल क्लास रुमबाट पढाउन थालिएको शिक्षक उपेन्द्र पौडेलले जानकारी दिनुभयो । “करिब एक हजार २०० विद्यार्थीलाई अन्तक्र्रियात्मकरूपमा अनलाइनमा सहभागी गराएर अध्यापन गराइरहेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार १० कक्षाका विद्यार्थीलाई एसइईको तयारीमा विशेष जोड दिइएको छ । त्यसैगरी पोखरा छिनेडाँडास्थित नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज पोखराले पनि अहिले अनलाइनमार्फत विद्यार्थीलाई पढाइरहेको कलेजका प्राचार्य प्र्रकाश रेग्मीले जानकारी दिनुभयोे । विद्यार्थीमा मनोवैज्ञानिक असर नपरोस् र पढ्ने बानीको निरन्तरताका लागि अनलाइन कक्षा सञ्चालन गरिएको उहाँको भनाइ छ । “लामो समयको लकडाउनले विद्यार्थीको पढाइलाई असर गर्न सक्ने भन्दै हाल बीएचएम तेस्रो सेमेष्टर र कक्षा ११ को एकाउण्ट र फुड प्रोडक्शन विषयमा अनलाइन कक्षा सञ्चालन भइरहेको छ भने आगामी दिनमा अन्य विषयमा पनि पढाइ गर्ने तयारी गरेका छौँ”, रेग्मीले भन्नुभयो, “हामी अन्य विषयका शिक्षकलाई अनलाइन कोर्षको तालिम दिएर थप विषयको पढाइ सञ्चालन गर्ने तयारी गरिरहेका छौँ ।”

पोखराको मासबारस्थित मदरल्याण्ड माविले पनि जुम सफ्टवेयर र गुगल क्लास रुममार्फत कक्षा १०, ११ र १२ का विद्यार्थीलाई अनलाइनबाट पढाइरहेको विद्यालयका निर्देशक त्रिभुवन शर्माले जानकारी दिनुभयो । चैत १३ गतेबाट शुरु गरिएको अनलाइन कक्षामा शुरुमा तीन विषयबाट अहिले दैनिक नौ विषय पढाइ हुँदै आएको उहाँको भनाइ छ । उहाँका अनुसार एउटै कक्षामा ८० भन्दा बढी विद्यार्थी सहभागी हुने गरेका छन् भने स्कूलबाहेकका विद्यार्थीले समेत सहभागिता जनाइरहेका छन् । पोखराको गैरापाटनस्थित कुमुदिनी होम्सले पनि अनलाइन कक्षा सञ्चालनका लागि शिक्षकलाई तालिम दिएको विद्यालयले जनाएको छ । पोखरा विश्वविद्यालयले स्नातकोत्तरका इञ्जिनियरिङका विद्यार्थीलाई अनलाइन कक्षा सञ्चालनको तयारी गरिरहेको पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्काय पूर्व डिन बुद्धिराज जोशीले जानकारी दिनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्की जिल्ला समितिले पनि २१औँ शताब्दीमा विद्यार्थी र शिक्षक कस्तो हुने भन्ने विषयमा शिक्षकलाई अनलाइन कोर्षमा सहभागी गराएको छ । अनलाइनबाट शिक्षक सामग्री तयार मोडेल डेभलपमेन्ट गरिरहेको जिल्ला समितिका अध्यक्ष रोमहर्षण पौडेलले जानकारी दिनुभयो । सङ्गठनले २० दिनदेखि शिक्षकलाई अनलाइनबाट विशेष कोर्ष गराउँदै आएको उहाँको भनाइ छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) कास्कीका अध्यक्ष प्रेम शर्माले एक डेढ महिनाको बिदासम्मले खासै असर नपर्ने तर अझ लकडाउन बढ्यो भने त्यसको विकल्प खोजिने बताउनुभयो । उहाँले भन्नुभयो, “एक डेढ महिनाको बन्दलाई व्यवस्थापन गर्न सक्छाँै, अब झन् बढ्यो भने विद्यार्थीलाई प्रभावकारी शिक्षा प्रदानका लागि विकल्प सोचिरहेका छौँ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology