• Tuesday 28th of July 2026

मुस्लिम समुदाय घरमै पढ्छन् नमाज


  • गोकर्णेश्वर अनलाइन

बन्दाबन्दी (लकडाउन)का कारण लमजुङ जिल्लाका मुस्लिमहरुले घरमै नमाज पढ्न थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुकभर बन्दाबन्दी गरेपछि यहाँका मुस्लिम समुदायले घरमै नमाज पढ्न थालेका हुन् । नेपाल मुस्लिम सङ्घ जिल्ला शाखा लमजुङका अध्यक्ष एवं बेँसीशहर नगरपालिकास्थित चादजाने मस्जिद कमिटीका अध्यक्ष सहेदिन मियाँले बन्दाबन्दी भएसँगै मुस्लिम समुदायले घरघरमै नमाज पढ्न थालेको बताउनुभयो । “सरकारले बन्दाबन्दी लागू गरेपछि यहाँका मुस्लिम समुदायलाई घरमै बसेर नमाज पढ्न भनेका छौँ”, उहाँले भन्नुभयो, “लकडाउनमा एकापसमा जम्मा भएर केही कार्य नगर्न सरकारले गरेको आग्रहको पालना गर्दै सबै मुस्लिम समुदायलाई मस्जिदमा नगई घरघरमै नमाज पढ्नलाई आग्रह गरेका छौँ ।”

उहाँका अनुसार बेँसीशहर नगरपालिकाबाहेक जिल्लामा भोर्लेटार, सुन्दरबजार, ताकुघाट, सिर्ख्र, भोटेओडारमा मस्जिद रहेको र त्यहाँ पनि यतिबेला सामूहिकरूपमा नमाज पढ्नलाई बन्द गरिएको छ । एक महिनासम्म चल्ने मुस्लिम समुदायको ठूलो पर्वमध्ये एक रमजान आजबाट शुरु हुने र बेलुकाबाट तराबी ध्यान गर्ने गर्दछन् । यो सामूहिकरूपमा मस्जिदमा धर्मगुरुबाट पढाउने तराबी ध्यान हो, तर यस वर्ष लकडाउनका कारण मस्जिदमा यो ध्यान पनि नहुने मुस्लिम सङ्घ लमजुङका अध्यक्ष मियाँले बताउनुभयो । दश वर्षमाथि र बिरामी भएका मुस्लिमबाहेक सबैले सामूहिकरूपमा नमाज तथा यस तराबी दैनिक पाँच पटक पढ्ने गरेको उहाँको भनाइ छ । जिल्लाभरि करिब एक हजार २०० मुस्लिम छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology