• Tuesday 28th of July 2026

विनाशकारी भूकम्पका पाँच वर्ष : ३५ प्रतिशत निजी आवास निर्माण सम्पन्न


  • गोकर्णेश्वर अनलाइन

विसं २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको पाँच वर्ष बितेको छ । भूकम्पले जिल्लाको निजी आवास निर्माण निकै सुस्ताएको छ । भूकम्पले क्षति पु-याएको पाँच वर्ष बित्दा पनि राज्यले सोचेजस्तो रुपमा भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये भक्तपुरमा पूर्ण लाभग्राही सूचीमा परेर निजी आवास पुनःनिर्माण गर्नेको सङ्ख्या निकै कम रहेको छ । पाँच वर्षको अवधिमा भक्तपुरमा ३५ प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ । जिल्लामा पुनःनिर्माण गर्नुपर्ने २८ हजार ५४५ र प्रवलीकरण गर्नुपर्ने ६९९ गरी कूल २९ हजार २४४ लाभग्राही सूचीमा परे पनि हालसम्म १० हजार ३३१ निजी आवास पुनःनिर्माण सम्पन्न गरेको कार्यालयका इञ्जिनीयर एवं सूचना अधिकृत भोजराज भट्टले जानकारी दिनुभयो । पुनःनिर्माण लाभग्राहीमध्ये २४ हजार ७२७ ले अनुदान सम्झौता गरेका छन् ।

त्यसमध्ये २४ हजार ७२४ ले प्रथम किस्ता, १० हजार ६८१ ले दोस्रो किस्ता र १० हजार ८५ लाभग्राहीले तेस्रो किस्ताको रकम लगेका छन् भने थप २४६ पुनःनिर्माण सम्पन्न गरिसकेकाले तेस्रो किस्ता लैजाने चरणमा रहेको सूचना अधिकृत भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार प्रथम किस्ता ८५ दशमलव आठ प्रतिशत, दोस्रो किस्ता ३६ दशमलव पाँच प्रतिशत र तेस्रो किस्ता लैजाने ३४ दशमलव पाँच प्रतिशत लगेका छन् । हाल दुई हजार ५०४ को निजी आवास पुनःनिर्माण शुरु गरेका छन् भने पहिलो किस्ताको रु ५० हजार अनुदान लिएर पनि घर नबनाउनेको सङ्ख्या भने ११ हजार ८९२ रहेको छ । त्यस्तै पूर्णक्षति नभएको तर प्रवलीकरण गर्नुपर्ने निजी आवासअन्तर्गत प्रवलीकरण लाभग्राही सूचीमा रहेका ६९९ मध्ये ३५९ ले मात्रै अनुदान सम्झौता गरेर प्रथम किस्ता लगेका छन् भने दोस्रो किस्ता लैजाने दुई लाभग्राही मात्रै रहेका छन् । जिल्लाका चार नगरपालिकामध्ये सबभन्दा धेरै सूर्यविनायक नगरपालिकामा ४२ प्रतिशतले निजी आवास निर्माण सम्पन्न गरेका छन् । यस नगरपालिकामा पुनःनिर्माणका लागि सात हजार १६५ ले प्रथम किस्ता, तीन हजार ४२७ ले दोस्रो किस्ता र तीन हजार २२९ ले तेस्रो किस्ताको अनुदान रकम लगेका छन् ।

भूकम्पमा सबैभन्दा धेरै आवासमा क्षति पुगेको चाँगुनारायण नगरपालिकामा भने निजी आवास निर्माणमा ३७ दशमलव नौ प्रतिशत सम्पन्न भएको छ । यो नगरपालिकामा १० हजार ४३ ले प्रथम किस्ता, चार हजार ४५५ ले दोस्रो किस्ता र चार हजार २६५ ले तेस्रो किस्ता लिएका छन् । त्यस्तै सबैभन्दा कम क्षति भएको मध्यपुरथिमि नगरपालिकामा ३१ दशमलव छ प्रतिशतले मात्रै निजी आवास निर्माण गरेका छन् । यहाँका दुई हजार १५४ ले प्रथम किस्ता, ८०१ ले दोस्रो किस्ता र ७७२ तेस्रो किस्ताको अनुदान रकम लगेको जिल्ला कार्यालयका इञ्जिनीयर एवं सूचना अधिकृत भट्टले जानकारी दिनुभयो । भक्तपुर नगरपालिकामा भने निजी आवास निर्माणमा २२ दशमलव दुई प्रतिशत मात्रै सम्पन्न भएको छ । यहाँ पाँच हजार ७२१ ले प्रथम किस्ता, दुई हजारले दोस्रो किस्ता र एक हजार ८१९ ले तेस्रो किस्ता रकम लगेका छन् । जग्गासम्बन्धी मुद्दा मामिला, घर झगडा, बहुस्वामित्वको विवाद, पुराना बस्तीमा जग्गाको क्षेत्रफल सानो, हरित क्षेत्रमा परेको, नगरपालिकाको मापदण्डअनुसार बाटो, जग्गा क्षेत्रफल र नक्सा नरहेकोजस्ता कारणले पुर्ननिर्माणमा समस्या आएको उहाँको भनाइ छ ।

समस्या समाधानका लागि कार्यालयले अनुगमन एवं अन्तक्र्रिया कार्यक्रम, जनप्रतिनिधिसँग छलफल, इन्सेकलगायत विभिन्न संस्थाले सार्वजनिक सुनुवाइ गर्र्दै आएको छ । पहिलो किस्ता लिएकाले आगामी असार मसान्तसम्म दोस्रो किस्ता र आगामी मङ्सिर मसान्तसम्म पुनःनिर्माण सम्पन्न गरी तेस्रो किस्ताको रकम लिई सक्नुपर्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology