भानु नगरपालिका–२ स्थित भकुन्थोकको एक कुखुरा फार्ममा आज बिहान आगलागी हुँदा खोरमा रहेका एक हजार ब्रोइलर कुखुरा जलेर नष्ट भएको छ । आगलागीबाट भौतिक संरचना तथा कुखुरा गरी करीब रु सात लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विद्युत् चुहिएर अन्दाजी ३ बजे आगलागी भएको थाहा पाएको कुखुरा व्यवसायी हरि बस्यालले जानकारी दिनुभयो । बिहान प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीको नेत्ृत्वमा गएको प्रहरी टोलीले घटनाको मुचुल्का तयार गरी ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । खरको छानो रहेकाले कुखुराको खोर सजिलै जलेर पूर्ण नष्ट भएको भानु– २ का वडाध्यक्ष अर्जुनबहादुर अधिकारीले जानकारी दिनुभयो ।
ती कुखुरा ३७ दिनका थिए । खोरका कुखुरामध्ये १५÷२० मात्रै जीवित भेटिएकोे बताउँदै उहाँले कृषकलाई क्षतिपूर्तिका लागि नगरपालिकाका तर्फबाट पहल गरिने आश्वासन दिनुभयो । किशोर मृत फेला व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल नगरमा १५ वर्षीय विपीन श्रेष्ठ घरमै मृतावस्थामा फेला परेका छन् । उनकी आमा कोपिला अपाङ्गता भएकी ११ वर्षीया छोरी बिनालाई लिएर घरबाट हराएको तीन दिन बितेको प्रहरीले जनाएको छ । शव दमौली अस्पतालको शवगृहमा राखिएको छ । मृतकका हराएकी आमा र बहिनीको खोजीलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ ।
