• Tuesday 28th of July 2026

‘लकडाउन’मा इन्धनको जोहोका लागि ‘गुइँठा’ बनाइँदै


  • गोकर्णेश्वर अनलाइन

–गोपालप्रसाद बराल कोभिड–१९ सन्त्रास छल्न जारी ‘लकडाउन’भित्र महोत्तरीका आम ग्रामीण गृहिणी इन्धनको जोहोमा लागेका छन् । बाहिर निस्कन अनुकूलता नभएपछि यहाँका गृहिणीको खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ (गोबर पथारेर दाउरा प्रयोजनका लागि बनाइने इन्धन, ‘चिपरी’ र ‘गोरहा’पनि भनिन्छ) बनाउने व्यस्तता बढेको हो । प्रायजसो जिल्लाका सबैजसो स्थानीय तहका ग्रामीण बस्तीमा अहिले महिला ढकी (बाँसको चोयाले बुनिएको खास भाँडो, ‘छिटी’ पनि भनिन्छ) बोकेर गोबर सङ्कलन गर्न र घरघरै ‘गुइँठा’ बनाउन व्यस्त देखिँदा छन् । जिल्लाका १५ स्थानीयतहमध्ये १० नगरपालिकामा पनि धेरैजसो ग्रामीण बस्ती नै रहेका हुँदा सबैजसो भेगमा अहिलेको ‘लकडाउन’ मा गृहिणीको ‘गुइँठा’ बनाउने काममा व्यस्तता बढेको हो । “के गर्नु पकाएर खानु परिहाल्छ,” धमाधम गोबरको चिपरी पथार्न व्यस्त देखिनुभएकी बर्दिवास नगरपालिका–९ पशुपतिनगरकी गृहिणी शैलदेवी महतोले भन्नुभयो, “अहिले काममा बाहिर निस्कने समय छैन, त्यसैले घरमै बर्खाभरिलाई चाहिने ‘चिपरी’ पथार्दैछु ।”

जिल्लामा खाना पकाउने इन्धनमा बाक्लै प्रयोग हुने गोबरको चिपरी र गुइँठा (गोरहा)मा आगो ननिभ्ने र खानेकुरा पनि स्वादिलो हुने आमविश्वास छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले पनि गोबरका ‘चिपरी’ र ‘गुइँठा’मा पकाइएको खाना मौलिक स्वादको हुने र स्वस्थ्यकर पनि हुने बताउनुभयो । खासमा असोजदेखि जेठसम्म ‘चिपरी’ र ‘गुइँठा’ पथार्ने यहाँका महिला अहिले धेरैजसो कृषिकार्य ‘लकडाउन’ ले गर्न अनुकूलता नहुँदा वर्षभरिकै इन्धन जम्मा गर्न ‘चिपरी’ र ‘गुइँठा’ पथार्ने (गोबरको ‘गुइँठा’ र ‘चिपरी’ बनाउने कामलाई ‘पाथ्ने’ वा‘पथार्ने’ भनिन्छ) गरेको बताउँछन् । घरमा पशुबस्तु हुनेले आफ्नै गोठको गोबर जम्मा गरेर कुरी (थुप्रो) लगाउने र नहुनेले सडक र चरणक्षेत्रसम्म पुगेर गोबर सङ्कलन गरेर घर वरपर ल्याएर थुपार्ने महोत्तरी मात्र नभएर मध्यपूर्वी तराईकै आम कुरो मानिन्छ । यसरी दुई÷तीन दिन लगाएर थुपारिएको गोबर अर्को दुई÷तीन दिन लगाएर ‘गुइँठा’ र ‘चिपरी’ पाथ्ने गरिन्छ । सामान्यतया गोबरलाई चाक्लो पारेर पथारिनेलाई ‘चिपरी’ र लामो डोलो बनाइनेलाई ‘गुइँठा’ वा ‘गोरहा’ भनिन्छ ।

पथारेर एक महिनाजति घामले सुकेपछि ‘चिपरी’ र ‘गुइँठा’ पानी नचुहिने, नभिज्ने ठाउँमा थाक बनाएर राखेपछि आवश्यकताअनुसार खाना पकाउन प्रयोग गरिन्छ । खासगरी वनक्षेत्र टाढा भएका र घरको आर्थिक अवस्थाले ग्यास किन्ने र प्रयोग गर्ने आर्थिक हैसियत नभएका घरमा इन्धनका लागि ‘चिपरी’ र ‘गुइँठा’ बालेर खाना पकाइन्छ । मध्यपूर्वी तराई क्षेत्रमा घरपालुवा पशुबस्तु (गाई, गोरु, भैँसी र राँगा) को गोबर इन्धनमा खर्च हुने भएपछि जग्गा जमिनमा उत्पादन भने कम हुने र रासायनिक मलको प्रयोग बढेको पाका किसान बताउँछन् । “खेतबारीमा हाल्नुपर्ने कम्पोष्ट मल बनाइने गोबर दाउरामा प्रयोग गरिन्छ”, महोत्तरीकै भङ्गाहा नगरपालिका–६ हतिसर्वाका ७० वर्षीय किसान सीताराम सर्दारले भन्नुभयो, “खेतबारी मलिलो बनाउने कम्पोष्ट मल नभएपछि उत्पादन निकै घटेको छ ।” अब इन्धनमा गोबरको विकल्पन खोजिने हो भने जग्गाको उर्वराशक्ति ह्रास भएर यहाँका जग्गा ढड्यान (उब्जाउ हुने रुखो जग्गा) बन्ने किसान बताउँछन् । सरकारले सर्वसाधारण किसानलाई ग्यास चुलो जडान गर्न उत्प्रेरित गर्न र गरिब जनतासम्म वनसम्पदा (दाउरा) मा पहुँच बढाउन पहलकदमी लिनुपर्ने किसानको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology