• Tuesday 28th of July 2026

अनलाइन अर्डरबाट ८० क्विन्टल खाद्य पदार्थ बिक्री


  • गोकर्णेश्वर अनलाइन

लकडाउन अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइन अर्डर लिएर उपभोक्ताका घरसम्म ८० क्विन्टल खाद्य पदार्थ बिक्री गरेको छ । उपभोक्तालाई सेवा प्रवाह गर्न कम्पनीले गत चैत २६ गतेदेखि अनलाइन अर्डर शुरु गरेर खाद्यान्न बिक्री वितरण गर्दै आएको हो । यस अवधिमा काठमाडौँ उपत्यकाको चक्रपथभित्रका उपभोक्तलाई लक्ष्य गर्दै अर्डरअनुसार दैनिक तीन भ्यानमार्फत खाद्य पदार्थ बिक्री गरिँदै आएको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार चामल र चिनीको बिक्री गर्दै आएको कम्पनीले उपभोक्ताको मागअनुसार तीन प्रकारका दाल (मुसुरो, रहर र केराउ) र पीठोसमेत बिक्रीको तयारी गरिएको उहाँले जानकारी दिनुभयो । हाल थापाथली, नख्खु, रामशाहपथ, श्रीविनायक र लगनखेल गरी पाँच स्थानबाट खाद्य पदार्थ बिक्रीवितरण गरिएको छ । त्यस्तै उपत्यका बाहिर सबै जिल्लावाट बिक्री गरिएको कम्पनीले जनाएको छ ।

अन्य समयमा कम बिक्री हुने तराईका जिल्लामा समेत अहिले पर्याप्त मात्रामा खाद्यान्न बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो । हाल कम्पनीसँग १९ हजार मेट्रिक टन खाद्यान्न मौज्दात छ । मौज्दातमा कमी भएसँगै नयाँ खरीदको प्रक्रिया शुरु हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गहुँ खरीदको तयारी गरिएको छ । “लकडाउनको अवधिमा हामीले मोबाइल भ्यान र इसेवावाट खाद्यान्न खरीदको शुरुआत गरेका हौँ”, उहाँले भन्नुभयो “शुरुआती चरणमा रिङरोड भित्र मात्रै सेवा प्रवाह गरिए पनि उपत्यकाका सबै स्थानमा सेवा प्रदान गर्ने तयारी गरेका छौँ ।” दोस्रो बोलपत्र आह्वान खाद्य कम्पनीले एक लाख क्वीन्टल चामल खरीद गर्न दोस्रो पटक सार्वजनिक बोलपत्र आह्वान गरेको छ । एक महिनाको अवधि राखेर बोलपत्र आह्वान गर्दा एक जनाको पनि नपरेपछि १५ दिनको अवधि राखेर पुनः दोस्रो बोलपत्र आह्वान गरिएको कम्पनीले जनाएको छ । गत वैशाख १० गते दोस्रो पटक आह्वान गरिएको बोलपत्रअनुसार एक जनाको आवेदन दर्ता भएको कम्पनीका खरीद एकाइ प्रमुख डिल्लीराज लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दोस्रो आह्वानको समयावधि यही वैशाख २५ गते दिउँसोसम्म छ । बोलपत्र दर्ता कम्पनी वा व्यक्तिले वैशाख २४ गते अपराह्न ५ बजेसम्म चामल खरीद गरिसक्नुपर्ने र वैशाख २५ गते मध्याह्न १२ बजेभित्र आवश्यक कागजपत्रसहित कार्यालयमा उपस्थित हुनुपर्नेछ । उहाँका अनुसार कम्पनीका कार्यालय विराटनगर, लहान, काठमाडौंँ, नेपालगञ्ज र धनगढी, वीरगञ्ज र सुर्खेतका लागि बोलपत्र आह्वान गरिएको हो । कम्पनीले भण्डारण खाली भएको जनाउँदै पहिलो पटक गत चैत ५ गते ३० दिनको समयसीमा राखेर बोलपत्र आह्वान गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology