• Tuesday 28th of July 2026

साथीको हत्या गर्ने पक्राउ


  • गोकर्णेश्वर अनलाइन

सँगै नशा सेवन गरेर हिँड्ने क्रममा आफ्नै साथीलाई कुटेर मारेको अभियोगमा आज सप्तरीमा तीनजना पक्राउ परेका छन् । साथीको हत्या आरोपमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका सुजितकुमार मुखिया, प्याप्या भनिने कृष्णकुमार मुखिया र टिल्का भनिने चन्द्रशेखर मण्डललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार उनीहरूमाथि फागुन ३० गते हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका १६ वर्षीय सुरज साह स्वर्णकारलाई हत्या गरेको अभियोग लागेको छ । मृतकका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा दिएको उजुरी आज दर्ता गरिएको छ । प्रहरीका अनुसार सँगै नशा सेवन गरेका साथीहरूले सामान्य विवादमा स्वर्णकारलाई कुटपिट गरी हत्या गरेका हुन् ।

पक्राउ परेका आरोपितले प्रहरीसँगको प्रारम्भिक बयानमा चारजना सँगै बसेर सोनपिच नामक सुलेसन पिएको र चोरी गर्न जाने क्रममा विवाद भएपछि तीनजना मिलेर कुटपिट गर्दा मृत्यु भएपछि बोरामा हालेर झाडीमा मिल्काएको बताएका छन् । कुटपिट गरेर हत्या गरिएको अवस्थामा सुरजको शव वैशाख १ गते भारदहस्थित कोशी नदीको पश्चिमतर्फको बाँधको बाटो छेउको झाडीमा फेला परेको थियो । घटनाबारे अनुसन्धान गर्न धनुषाको मिथिला नगरपालिकास्थित प्रहरी चौकी लालगढबाट तालिम प्राप्त कुकुरसमेत मगाइएको थियो । गाउँको चौबाटोमा पुगेर कुकुरले ट्र्याक छाडेपछि प्रहरीले मृतकका मिल्ने नजिकका साथीहरूमा निगरानी बढाएको थियो । कुटपिट गर्दा चारैजना नशाले बेहोसी अवस्थामा रहेको पक्राउ परेका आरोपीले बताए ।

“सबैजना बेहोसी हालतमा रहेकाले नै कुटपिटमा सुरजको मृत्यु भयो”, उनीहरूको बयानलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय कञ्चनरूपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले भन्नुभयो, “आरोपितहरूलाई आज अदालतबाट १५ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ ।” हत्यामा प्रयोग भएको धारिलो चक्कु, बोरा, डोरी, ताला फुटाउने कटर फेला परिसकेको छ । यसअघि कुनै मनमुटाव नभएको र सुरजका साथीहरूले समेत बेहोसी अवस्थामा घटना भएको प्रारम्भिक बयान दिएकाले लागुऔषधको नशा घटनाको मुख्य कारण भएको प्रनाउ मिश्रले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology