• Tuesday 28th of July 2026

रहर होइन बाध्यता छ, गिट्टी कुट्ने काम


  • गोकर्णेश्वर अनलाइन

– पुरुषोत्तम थापा मुलुक यतिखेर बन्दाबन्दीमा छ । जिल्लाका अधिकांश मानिस घरबाट बाहिर निस्केका छैनन् । तर नारायण नगरपालिका–६ भुर्तिका ५५ वर्षीया काली सार्की गिट्टी कुट्दै भेटिन्छिन् । उमेर जति बुढो भए पनि उहाँका कर्मशील हात भने गिट्टीमा कुदिरहेका छन् । छोराछोरीले पालनपोषण गर्ने उमेरमा उहाँलाई गिट्टी कुट्न रहर नभई बाध्यता रहेको छ । गिट्टी कुट्न छाडे परिवारको पेट भोको रहने भन्दै उहाँले दिनहुँ गिट्टी कुट्ने गरेका छन् । “गिट्टी कुट्ने काम रहर नभएर आफ्नो बाध्यता रहेको छ”, उहाँले भन्नुभयो, “घरमै बसी खाने हाम्रा पनि रहर थियो । भोको पेटले त घरमा बस्न दिँदैन । काम नगरी खान पुग्दैन । छोराछोरीले भोक लाग्यो भन्ने भने कहाँ माग्न जाने ।” एक घण्टाको पैदल हिँडेर उहाँ नारायण नगरपालिका–८ झुप्रेसाल नजिक ठेकेदारले थुपारेको ढुङ्गालाई आफ्ना हतौंडाको सहायताले गिट्टी बनाउने गर्छन् । यो उहाँको नियमित काम हो । घामपानीलाई छल्न छातालाई लठ्ठीमा बाँधेर त्यही छाताको सहारामा दिनभर गिट्टी कुटेर त्यसबाट आउने ज्यालाले आफ्नो बाँच्ने सहारा भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो “मैले यो काम गर्न थालेको १० वर्ष हुन थाल्यो, यहीबाट आएको पैसाले पाँच जनाको परिवार हुर्काएँ, यो काम छाडे पेट पनि बन्द हुन्छ, रहरले होइन बाध्यताले गर्नुपरेको छ ।” नत्र यो बुढो उमेरमा घरमा बसेर आराम गर्थेँ अझ यो कोरोना भन्ने आएको छ अरे किन हातखुट्टा दुःखाउँथे उहाँले दुखेसो पोख्नुभयो । सोही ठाउँका ३५ वर्षीय देउरुपा सार्कीले पनि ज्याला मजदूरीबाहेक अन्य पेशा नभएकाले ठेकेदारले थुपारेको ढुङ्गा फुुटाएर गिट्टी कुट्ने काममा लागेका छन् । यसले कम्तीमा छाक टरेको छ, नत्र हामीलाई पनि अरू जस्तै पुगेको भए यो महामारीमा आफूहरु नआउने बताउँदै उहाँले रोगभन्दा पनि यो गिट्टी कुट्ने काम अप्ठ्यारो हो तर नगरी सुखै छैन भन्नुभयो । “लकडाउन भनेर घर बसेको भए यो महिनाभरि के खाने समस्याले सताउँथ्यो । यो गिट्टी बेचेर आएको पैसाले आफ्नो घर खर्च जोहो गर्न सहजता आएको छ उहाँले भन्नुभयो । तीन साता नै हुन थाल्यो, यो अवधिमा उहाँहरु करिब १० ट्र्याक्टर गिट्टी कुटिसकेका छन् ।

यो समस्या उहाँहरुको मात्र नभएर नारायण नगरपालिका–६ का अधिकांश दलित समुदायसँग छ । “गरिबीका कारण यो समुदायले जीवनको जोखिम मोलेर गरेको मेहेनत पेट पाल्नकै लागि भएको दलित पत्रकार महासङ्घ दैलेखका अध्यक्ष पृथ बयलकोटीले बताउनुभयो । “लकडाउन अवधिभर उहाँहरुको खानपानका लागि स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “यो समस्या अब धेरै दलित समुदायका घरपरिवारमा आउने खतरा बढेर गएको छ ।” समयमै सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उहाँको सुझाव छ । गत महिना वडामा केही राहत वितरण गरेको तर त्यो सानो राहतले ठूलो परिवार भएकालाई एक हप्ता पनि नपुग हुँदा समस्या आएको र अब उहाँहरुलाई दोस्रो चरणको खाद्यान्न वितरण गरिने वडा नं ६ का वडाध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिनुभयो । अब राहत वितरण गर्दा गिट्टी कुट्ने परिवारको पहिचान गरी उहाँहरुलाई अन्य परिवारभन्दा बढी सहुलियत दिने सोचमा हामी छौँ भन्दै उहाँले लकडाउनमा घरमै बस्न उहाँहरूलाई आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology