• Tuesday 28th of July 2026

शव व्यवस्थापन सम्बन्धी प्रशिक्षण


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको मृत्यु हुन गएको खण्डमा त्यसको शव व्यवस्थापन गर्ने सम्बन्धी प्रशिक्षण आज यहाँ सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको खण्डमा त्यसको शव कसरी व्यवस्थापन गर्ने सम्बन्धी प्रशिक्षण दिएको हो । जनस्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले कोरोना भाइरस सङ्क्रमितको शव व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिनुभएको छ ।

कोरोना महामारीबाट मृत्यु हुनेहरुको शव समयमै व्यवस्थापन गर्न नसके थप सङ्कट सिर्जना हुनसक्ने भएकाले समयमै सतर्कता अपनाउनका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराका १० जना प्रहरी अधिकृतलाई सो विषयमा प्रशिक्षण दिएको प्रशिक्षक एंव प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाको महामारी बढ्दै गएमा प्रहरी उच्च जोखिममा रहने भएकाले कोरोना सङ्क्रमितको शव व्यवस्थापनका लागि प्रहरीलाई यस विषयमा प्रशिक्षण दिएको छ ।”

सुरक्षित रुपमा शव व्यवस्थापनका लागि अपनाइनुपर्ने उपायबारे प्रस्तुतीकरण दिएको जनस्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताउनुभयो । शव व्यवस्थापन गर्दा पिपिई लगाउने, शव बोक्ने सामग्री र सवारी साधनलाई स्यानिटाइज गर्ने, परिवार तथा समुदायलाई टाढै राखेर शव व्यवस्थापन गर्ने भन्ने विषयमा प्रशिक्षण दिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology