• Monday 27th of July 2026

कोरोनाभाइरसबाट नाइजरका श्रममन्त्रीको निधन


  • गोकर्णेश्वर अनलाइन

नियामे, २३ वैशाख (रासस–एएफपी) –– कोरोनाभाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको निधन भएको सरकारी टेलिभिजनले घोषणा गरेको छ । सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (पिएसडी)ले राजधानी नियामेमा उपचारकै क्रममा ५५ वर्षीय बेन ओमारको आइतबार निधन भएको जनाएको छ । मन्त्री बेन ओमारको निधन भएको समाचार प्रशारण गर्नुअघि टेलिभिजनले मन्त्री बेन ओमारले कोरोनाभाइरसका बारेमा व्यक्त गर्नुभएका सन्देशहरु प्रशारण गरेको थियो ।

सन्देशमा मन्त्री ओमारले कोरोनाभाइरस निकै खतरनाक र घातक रहेको तथा यो प्रकाशको गतिमा तिब्र रुपमा फैलिने स्वभावको रहेको बताउनुभएको थियो । नाइजरका राष्ट्रपति मोहमदु इसोफुले बेन ओमारको निधनबाट आफू अत्यन्त दुखित भएको बताउनु भएको छ । नाइजरमा हालसम्म ७५५ जनामा कोराना संक्रमण हुनुका साथै ३७ जनाको मृत्यु भएको छ । नाइजरमा हाल आपतकालीन स्थितिको घोषणा गर्नुका साथै यसका सीमा, धार्मिक स्थल तथा विद्यालयहरु सबै बन्द गरिएका छन् । साथै राजधानी नियामेलाई देशका अन्य भागबाट अलग्याइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology