• Tuesday 28th of July 2026

भूकम्प पछिको पुन:निर्माण– सिन्धुपाल्चोकमा ८८ प्रतिशत निजी आवास निर्माण सम्पन्न


  • गोकर्णेश्वर अनलाइन

गोरखा भूकम्पले सबैभन्दा बढी क्षति पुगेको सिन्धुपाल्चोकमा घरबारविहीन हुन पुगेकामध्ये ७६ हजार ९८० परिवारले नयाँ घरमा बसाइँ सरेका छन् । निजी आवासतर्फ सिन्धुपाल्चोकमा हालसम्म कायम भएका पछिल्लो गुनासोसहित जम्मा लाभग्राही ९० हजार ७५९ रहको र ८७ हजार ७५८ लाभग्राहीले सम्झौता गरेका जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख भरत आचार्यले बताउनुभयो । अनुदान सम्झौता गरेर ८४ हजार चार लाभग्राहीले दोस्रो किस्तावापतको रकम लिएको अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयसँग तथ्याङ्क छ । सिन्धुपाल्चोकमा रकम बुझेर घर निर्माण नगर्ने १६ जनाले पहिलो किस्तावापतको ५० हजार रकम फिर्ता गरिसकेका आचार्यले बताउनुभयो ।

सिन्धुपाल्चोकका १६८ पहिचान भएका भूमिहीन लाभग्राहीमध्ये ३५ जनाले मात्र जग्गा खरिद गरी अनुदान प्राप्त गरेका छन् भने जिल्लामा ७१७ विस्थापित भएकामध्ये ३२१ लाभग्राहीले मालपोत कार्यालयबाट जारी भएको लिखतको आधारमा अधिकतम प्रतिलाभग्राही रु दुई लाखसम्म जग्गा खरिदवापतको थप अनुदान पाइसकेका छन् भने ३१९ जनाले आवास निर्माण गरिसकेका छन् । जसमध्ये हेलम्बु दुई, चित्रेका दुई परिवारले जग्गा पुर्जामा भए जति नभएको भन्दै पुर्जा मुताविकको जग्गा माग गरिरहेका छन् । यस्तै २०७६ चैत मसान्तसम्म पहिचान भएका ९० हजार ५७९ कूल लाभग्राहीमध्ये ७६ हजार ९८० भूकम्पपीडितले नयाँ तेस्रो किस्तावापतको रकम बुझेका जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)का प्रमुख सन्तोष निरौला बताउनुहुन्छ । उहाँका अनुसार चैत मसान्तसम्म लाभग्राहीमध्ये ८७ हजार ६८७ लाभग्राहीले पहिलो किस्तावापत ५० हजार र ८४ हजार चार लाभग्राहीले दोस्रो किस्तावापत थप एक लाख ५० हजारको लागि सिफारिस भएको छ । उहाँका अनुसार ८८ प्रतिशत निजी आवास सम्पन्न भएको छ ।

खाजीलुङमा बुद्धमूर्तिसहित उद्यान बन्दै

वडालाई पर्यटकीयस्थलका रूपमा चिनाउँदै, आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनको खाजीलुङमा बुद्धमूर्तिसहित उद्यान (पार्क) बनिरहेको छ । वाग्मती प्रदेश सरकारको रु एक करोड ५० लाख बजेटबाट ३९ फिटको बुद्धमूर्ति बनिरहेको् वडाध्यक्ष सुकदेव रिसालले जानकारी दिनुभयो । विसं २०७६ माघमा वाग्मती प्रदेशका उद्योग वन पर्यटन तथा वातावरणमन्त्री अरुण नेपालले शिलान्यास गर्नुभएको बुद्धमूर्ति निर्माणकार्य बन्दाबन्दीमा पनि जारी रहेको रिसालले बताउनुभयो । बुद्धमूर्तिसँगै उक्त स्थानमा सुविधासम्पन्न उद्यान निर्माण गरिने वडाको योजना रहेको उहाँको भनाइ छ । बुद्धमूर्ति निर्माणकार्यमा अहिले नौ जना भूटानी कालिगढ खटिरहेका छन् । आफ्नो चुनावी घोषणापत्रअनुसार बुद्धमूर्ति र उद्यान निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । ३९ फिटे बुद्धमूर्ति रहेको सो स्थानबाट चौतारा, नगरकोट र धुलिखेल देख्न सकिने अध्यक्ष रिसालले बताउनुभयो ।

आफ्नो आग्रहमा वाग्मती प्रदेश सरकारको उद्योग वन पर्यटन मन्त्रालयले बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । ब्राह्मणको पहलमा बुद्धमूर्ति बनाउन पाएकामा उहाँले खुशी व्यक्त गर्नुभयो । धर्म निरपेक्ष राष्ट्रमा उहाँले जातजाति र धर्मको नाममा विवाद हुनु हुँदैन भन्ने सन्देश दिन यो योजना अगाडि बढाइएकोे उहाँको भनाइ छ । २०७७ असार मसान्तसम्म बुद्धमूर्ति निर्माणकार्य सक्ने लक्ष्य लिइएको छ । बुद्धमूर्तिसँगै उक्त स्थानमा सुविधासम्पन्न पार्क निर्माण गरिने लक्ष्य रहेको उहाँ बताउनुहुन्छ । पार्कमा हेलिप्याड, वनभोजस्थल, शिवमन्दिर, धारा, बाथरुम, शौचालय रहने छ । पर्यटनमन्त्रीले शिलान्यासका क्रममा बुद्धमूर्तिसँगै पार्क निर्माण सम्पन्न गराएरै छाड्ने प्रतिबद्धता जनाउनुभएकाले काम सम्पन्न हुनेमा वडावासी विश्वस्त रहेको अध्यक्ष रिसालको भनाइ छ ।

त्यस्तै वडाले शेर्पा र गुरुङ बस्तीमा होमस्टे (घरवास) सञ्चालन गर्ने भएको छ । पर्यटन नै विकासको मुख्य आधारका रूपमा रहेकाले पर्यटनलाई वडाले जोड दिएको उहाँले बताउनुभयो । यसअघि वडाले घरघरमा गइ विद्यार्थी भर्ना र पुस्तक वितरणकार्य पनि गरेको थियो । बुद्धमूर्ति र पार्क बन्ने भएपछि स्थानीयवासी खुशी भएका छन् ।

स्वास्थ्य सामग्री प्रदान

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकालाई चीनको नेलम कन्ट्रीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदान गरेको छ । चीनको नेलम कन्ट्री र खासा प्रशासनका उच्च अधिकारीले नेपाल–चीन सीमा मितेरीपुलमा भोटेकोशी गाउँपालिकाका उपाध्यक्ष दाबुटी शेर्पालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । एक महिनाअघि सम्पन्न सीमा सुरक्षा बैठकमा नेलम कन्ट्रीको तर्फबाट सीमा जोडिएका जिल्लालाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्ने चीनको तर्फबाट प्रतिबद्धता भएको थियो । सोही प्रतिबद्धताअनुसार सोमबार चिनियाँ अधिकारीले स्वास्थ्य सामग्री प्रदान गरेको भोटेकोशी गाउँपालिकाका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिनुभयो । चीनको नेलम कन्ट्रीबाट मेडिकल मास्क पाँच हजार थान, एन–९५ मास्क दुई हजार थान, थर्मोमिटर पाँच थान, सामान्य थर्मोमिटर ५० थान, आइसोलेसन गाउन ५० र २०० थान पिपिइ सेट गाउँपालिकालाई हस्तान्तरण भएको उपाध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सञ्चालित सामाजिक उत्थान कार्यक्रम (सुप) को बजेट आगामी आर्थिक वर्षदेखि सम्बन्धित पालिकामा पठाउन अनुरोध गरिएको छ । सोमबार मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाको उपस्थितिमा भएको बैठकले खानेपानी मन्त्रालयमा सामाजिक उत्थानको बजेट सम्बन्धित पालिकाको खातामा हाल्न अनुरोध गरिने निर्णय भएको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो । यसअघि समितिमार्फत बजेट आउँदा विकास निर्माणका काम गर्न सहज नभएको जनप्रतिनिधिले बताएका छन् ।

सिन्धुपाल्चोकमा ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम समिति, याङरी लार्के सरोकार समिति र मेलम्ची इन्द्रावती उत्थान समितिमार्फत साविकका २४ गाविसमा विकास निर्माणका काम हुने गरेका थिए । देश सङ्घीयतामा गएसँगै सङ्घीय संरचनामा बजेट खर्च गर्न पाउनुपर्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

एक हजार ४५९ परिवारलाई खाद्यान्न

सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिको पालिकाभित्र रहेका एक जार ४५९ विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ । पालिकामा रहेका बिहान–बेलुका छाक टार्न नै मुस्किल परेका परिवारको लगत सङ्कलन गरी खाद्यान्न वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कमल नेपालले जानकारी दिनुभएको छ । गाउँपालिकाभित्रका वडा नं १ का ४५३ परिवार, वडा नं २ का १४२ परिवार, वडा नं ३ का १४३ परिवार, वडा नं ४ का परिवार २१५, वडा नं ५ का ६६ परिवार र वडा नं ७ का ३३९ विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण दुलालले जानकारी दिनुभएको छ । सम्पूर्ण परिवारलाई १५ केजी चामल, दाल, खानेतेल वितरण गरिएको दुलालले बताउनुभयो । हालसम्म बाहिरी जिल्लाबाट पालिका भित्रिएका पालिकाभित्रका ४०० जनाको स्वास्थ्य परीक्षण गरेर घरमै बसेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology