• Monday 27th of July 2026

स्पेनमा ११३ वर्षीया वृद्धा कोरोनामुक्त


  • गोकर्णेश्वर अनलाइन

म्याड्रिड, ३१ वैशाख (रासस–एएफपी) –– स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोनाभाइरसमुक्त हुनु भएको छ । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई परास्त गर्न सफल हुनु भएको छ । अमेरिकामा जन्मिनु भएकी मारिया ब्रानयासलाई गत अप्रिलमा कोरोना संक्रमण भएको थियो । उहाँ विगत २० वर्षदेखि स्पेनको पूर्वी शहर ओलोटको सान्टा मारिया डेल टुरा केएर होममा बस्दै आउनु भएको थियो । उहाँमा श्वासप्रश्वासको समस्या देखिएको थियो । केएर होमकी प्रवक्ताले मारिया बाँच्न सफल हुनुभएको र अहिले स्वास्थ्य अवस्था निकै राम्रो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मारियाको गत साता स्वास्थ्य परीक्षण गरिएको थियो र उहाँको नतिजा नेगेटिभ देखिएको थियो ।” तीन सन्तानकी आमा मारियालाई केही साता उहाँकै कोठामा आइसोलेसन (एकान्तबास) मा राखिएको थियो । उहाँको देखभालका लागि एक जना कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री लगाएर खटाइएको थियो ।

क्याटालान टेलिभिजन टिभी३ ले शताब्दी वृद्धाको समाचार कथा प्रशारण गरेको छ । टेलिभिजन फुटेजमा मारियाले आफूलाई केएर होमका कर्मचारीले निकै माया गरेको बताउनुभएको छ । एक जना कर्मचारीले यति दिर्घ जीवनको रहस्य के होला भनेर सोधेको प्रश्नको जवाफमा मारियाले भन्नुभयो, “म स्वस्थ रहन पाएकामा आफूलाई निकै भाग्यमानी सम्झन्छु ।” यस केएर होममा कोरोनासँग सम्बन्धित स्वास्थ्य जटिलताका कारण धेरै जनाको ज्यान गएको केएर होमकी प्रवक्ताले बताउनुभयो । मारियाका बारेमा हालैका वर्षहरुमा स्पेनी मिडियामा धेरै लेखरचना प्रकाशन भइसकेका छन् । उहाँ स्पेनमै सबैभन्दा बढी उमेरकी व्यक्तिका रुपमा सम्मानित हुनुहुन्छ । मारियाको जन्म अमेरिकाको सान फ्रान्सिस्कोमा मार्च ४, १९०७ मा भएको थियो ।

उहाँका स्पेनी बुबा अमेरिकामा पत्रकारिता हुनुहुन्थ्यो । मारिया आफ्ना परिवारका साथ पहिलो विश्वयुद्धताका डुंगा चढेर स्पेन फर्कनु भएको थियो । उहाँ सन् १९१८–१९ को स्पेनी फ्लु र सन् १९३६–३९ को स्पेनी गृहयुद्धमा पनि बाँच्न सफल हुनु भएको थियो । स्पेनी स्वास्थ्य मन्त्रालयका अनुसार हालको कोरोनाभाइरसको महामारीबाट स्पेनमा २७ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । युरोप र अन्य क्षेत्रका मुलुकझैं स्पेनमा पनि ज्येष्ठ नागरिकहरु कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology