• Tuesday 28th of July 2026

तरकारी आयातमा रोक


  • गोकर्णेश्वर अनलाइन

भोजपुरका सम्पूर्ण नाका सिल गर्दै बाहिरी जिल्लाबाट हुने तरकारी आयतमा समेत रोक लगाइएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन शुक्रबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले सो निर्णय गरेको हो । सदरमुकाममा रहेका खाद्यान्न तथा तरकारी पसल बिहान ५ः३० देखि ९ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म मात्र खोल्न, भोजपुर बजारलगायत अन्य स्थानीयस्तरमा लाग्ने हटिया पूर्णरूपमा बन्द गर्न लगाउने निर्णय बैठकले गरेको छ । सदरमुकाममा लाग्ने गरेको शनिबारे र बुधबारे हटिया बन्द गर्ने निर्णय भएपछि बजार क्षेत्रमा तरकारी अभाव हुने नदिन देउरालीचोकबाट नगरपालिका भवनसम्म १०–१० मिटरको दूरी कायम गरी तरकारी किनबेच गर्न पाउने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोभिड–१९ को जोखिम न्यूनीकरणसँगै स्थानीयस्तरमा उत्पादन भएको तरकारी खपत गराउने उद्देश्यका साथ बाहिरी जिल्लाबाट आउने तरकारी यही जेठ २० गतेसम्मलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिनुभयो । अत्यावश्यक कामले विभिन्न ठाउँबाट आएका नागरिकलाई सम्बन्धित स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा १४ दिन राख्ने, भारतलगायत अन्य मुलुकबाट रोजगारी गरेर फर्केर आएकालाई प्रमुख जिल्ला अधिकारीको समन्वयमा जिल्लाको पूर्वीनाका अरुण नदीको लेगुवाघाटबाट मात्र प्रवेश गराइ केही दिन अरुण गाउँपालिकाले निर्माण गरेको होल्डिङ एरियामा राख्ने निर्णय भएको छ ।

यसैगरी बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारद्वारा जारी गरिएको लकडाउनलाई पूर्णरूपमा पालना गरी प्रत्येक नागरिकले मास्क लगाउने, लकडाउन उल्लङ्घन गरी मानिस ओसारपसार गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएर सात दिनसम्म चलाउन नदिने, चालक र यात्रा गर्नेलाई १४ दिन क्वारेन्टिनमा राख्ने निर्णयसमेत गरेको छ । धनकुटा जिल्लामा कोरोना सङ्क्रमित फेला परेसँगै यहाँ उच्च सतर्कता अपनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology