• Wednesday 29th of July 2026

सरकारको स्वागतयोग्य कदम: मुस्ताङको नेचुङमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना


  • गोकर्णेश्वर अनलाइन

चीनसंग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले संयुक्तरूपमा बिहीबार बिओपीको उद्घाटन गर्नुभएको हो । सो बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २० सशस्त्र प्रहरीको टोली खटिने बताइएको छ । स्थायी पूर्वाधार तयार नहुँदासम्म सशस्त्र प्रहरीको टोली नेचुङ भन्सार कार्यालयको भवनमा बस्नेछन् । बिओपीको भवन निर्माणका लागि ३३ रोपनी जग्गा व्यवस्थापन गरेर आवश्यक बजेटसमेत विनियोजन भइसकेको छ । सो अवसरमा प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बिओपी स्थापना भएपछि कोरला नाका सञ्चालनका लागि सुरक्षाको वातावरण निर्माण हुने बताउनुभयो । कोरला नाकाको दशगजा नजिकै नेपालतर्फ भन्सार र क्वारेन्टिन भवन निर्माणका लागि एक हजार रोपनी जग्गाको व्यवस्थापन गरिएको उल्लेख गर्दै उहाँले यसै आवमा भन्सार कार्यालय पनि बनाइने बताउनुभयो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बिओपी स्थापनासँगै सीमा सुरक्षा, सम्भावित चोरी तस्करी नियन्त्रण, भन्सार गस्ती र विपद् व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले देशको सीमा सुरक्षाका लागि कोरलामा बिओपी स्थापना भएको उल्लेख गर्दै यसले यस क्षेत्रको सुरक्षा र आपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कोरला नाका जोड्ने १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि २०७३ देखि ११ प्याकेजमा आयोजना सञ्चालन भएको छ । सडक विस्तार, कालोपत्र र मोटरेबल पुल निर्माणको काम भइरहेको छ । ११ प्याकेजमध्ये १८ किलोमिटर दूरीको छोसेर–कोरला र जोमसोम–छुसाङ खण्डको सडक स्तरोन्नतिको काम मात्र सकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology