• Wednesday 29th of July 2026

विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ : काँग्रेस


  • गोकर्णेश्वर अनलाइन

नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । काँंग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले आज एक विज्ञप्तिमार्फत विदेशका जुकसुकै कुनामा रहेका नेपालीलाई आफ्नो देश फर्कन पाउने अधिकार रहेको उल्लेख गर्दै सङ्ख्या नतोकी स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन आग्रह हो । सरकारले हालै विभिन्न देशमा रहेका करिब २५ हजार नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्ने तथ्याङ्क सार्वजनिक गरेको थियो । काँग्रेसले विदेशबाट ल्याइएका नेपाली नागरिक सबैको कोरोना भाइरस पिसीआर विधिबाट परिक्षण गरी विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसारको क्वारेन्टिन वा अन्य प्रबन्ध मिलाउनसमेत आग्रह गरेको छ । काँग्रेसले कोरोना भाइरसको महामारी शुरु हुँदाकै समयदेखि विदेशमा रहेका घर फर्कन चाहने नेपाली नागरिकलाई सरकारले फिर्ता ल्याउनुपर्छ भन्ने धारणा राख्दै आएको जनाएको छ ।

काँग्रेस केन्द्रीय सदस्य एवं विभागका प्रमुख गोविन्द भट्टराईले विज्ञप्तिमार्फत स्वदेश ल्याउनु मात्रै उपलब्धि नभई अब तत्कालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने समय आएको बताउनुभएको छ । काँग्रेसले कोरोना भाइरसको महामारी कहिले अन्त्य हुन्छ भन्ने अन्योलताले हुनसक्ने आर्थिक मन्दीसमेतलाई ध्यानमा राखी विदेशमा रहेका नेपाली भोलिका दिनमा ठूलो सङ्ख्यामा घर फर्कनुपर्ने अवस्था आउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ । आर्थिक वर्ष २०७६÷७७ को सरकारको नीति तथा कार्यक्रममा विदेशमा रहेका पाँच लाख नेपालीलाई स्वदेश फिर्ता गरेर रोजगारीमूलक काममा लगाउने उल्लेख गरिएको जनाउँदै उहाँले त्यसलाई अहिले कार्यान्वयन गर्ने समय आएको बताउनुभएको छ । विदेशबाट फिर्ता भएका नेपालीलाई रोजगारीमूलक काम दिने गरी तत्काल विषेश कार्यक्रम घोषणा गरेर कार्यान्वयन गर्नुपर्ने काँग्रेसको धारणा छ ।

विदेशमा रहेर कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकलाई सरकार आफैँले खर्च गरेर वा सम्बन्धित मुलुकका सरकारसँग कूटनीतिक पहल गरी उनीहरु कार्यरत कम्पनी वा सरकारको लगानीमा नेपाल ल्याउने प्रबन्ध गर्न काँग्रेसले सरकारसँग आग्रह गरेको छ । विभागका प्रमुख भट्टराईले सरकारले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई शुल्क तिर्नका लागि नेपालबाट पैसा पठाउने सहज प्रबन्ध मिलाउनसमेत आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology