• Wednesday 29th of July 2026

बाजुरामा बजार भाउ बढ्यो


  • गोकर्णेश्वर अनलाइन

बन्दाबन्दी जारी रहँदा यहाँ बजार भाउ वृद्धि भएको छ । पर्याप्त मात्रमा खाद्यान्न मौज्दात रहेकाले मूल्य नबढेको विक्रेताले दाबी गरे पनि बजारमा मूल्य वृद्धि आकाशिएको उपभोक्ताले गुनासो गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तथा व्यापारीले खाद्यान्न पुरानै मूल्यमा बिक्री गरेको बताइरहँदा उपभोक्ताले महँगो मूल्य तिर्नु परेको जनाएका छन् चामल, पिठो, नुन तेलको मूल्यमा समान देखिए पनि तरकारीसहितका अन्य वस्तुको मूल्यमा रु पाँचदेखि ३० भन्दा बढीसम्म मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो छ । बन्दाबन्दी जारी रहँदा बजार क्षेत्रमा प्रभावकारी अनुगमन हुन नसक्दा पनि दैनिक उपभोग्य सामानको मूल्य आकाशिएको हो । अहिले व्यापारीले तोके अनुसार ग्राहकले सामानको मूल्य तिर्नुपर्ने बाध्यता छ । व्यापारीले मनोमानी मूल्य लिने गरेको र म्याद नाघेका सामानसमेत बिक्री गर्ने गरेको गुनासो आउने गरेको बडिमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोदकुमार विकले बताउनुभएको छ ।

डिजेल पेट्रोलको मूल्य घटिरहेका समयमा जिल्लामा लिटरमा रु २० देखि ५० भन्दा बढी मूल्य तिर्नु परेको गुनासो यातायात व्यवसायीको छ । मार्तडी बाहिरका स्थानीय हाटबजारमा मेघा चामल प्रतिकेजी रु १०० तिर्न बाध्य भएका छन् । रु ५० मा प्रतिकेजी पाइने काँक्रो रु ६० देखि ८० मा बिक्री भैराखेको छ । फलफूलमा समेत रु २० देखि ६० सम्म प्रतिकेजी मूल्य बृद्धि गरी लिने गरेको पाइएको छ । घरेलु तथा साना उद्योग विकास समितिले यसअघि बाम्का, मार्तडीलगायत बजारको अनुगमन गरी म्याद नाघेका सामान नष्ट गरेको थियो । कृत्रिम अभाव हुन नदिन प्रशासन सचेत बन्नु विद्यार्थी नेता राजीव रोकायाले आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले कृत्रिम अभाव सिर्जना गर्न खोज्नेलाई कानूनी दायरामा ल्याउने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology