• Wednesday 29th of July 2026

अखाद्य वस्तु बेच्ने भोजपुरका २२ पसलको बिक्रीमा रोक


  • गोकर्णेश्वर अनलाइन

लकडाउनको समयमा म्याद गुज्रेका खाद्यान्नको भण्डारण गरी बिक्री गरेको फेला परेपछि त्यस्ता खाद्य पसलको बिक्री वितरणमा रोक लगाइएको छ । कोरोना भाइरस महामारीको मौका छोपेर व्यापारीहरूले म्याद गुज्रेका अखाद्य बस्तु बिक्री गर्ने गरेको गुनासो आएपछि गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका वस्तु फेला परेपछि तत्काललाई त्यस्ता पसलको बिक्री वितरणमा रोक लगाइएको हो । अनुगमनका क्रममा म्याद गुज्रेका अखाद्य बस्तु बिक्री गर्ने भोजपुरको दावा बलौटेस्थित लक्ष्मी किराना पसल, यमुना स्टोर, कान्तिपुर किराना पसल, विद्याधारी किराना, कुमकुम स्वीटहाउसलगायत २२ भन्दा बढी पसलको सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । कार्यालयका अनुसार बिक्रीका लागि राखिएका चामल, दाल, तेललगायत सामग्रीमा उपभोग्य मिति, उत्पादन मितिलगायत फेला नपरेपछि त्यस्ता पसलको विक्री वितरणमा रोक लगाएको छ ।

“व्यापारीले अखाद्य वस्तु बिक्री वितरण गरिरहेको व्यापक जनगुनासो आएपछि हामीले बजार अनुगमनलाई तीव्रता दिएका छौँ”, सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले भन्नुभयो, “यो अवधिमा २२ भन्दा बढी पसलको बिक्री वितरणमा रोक लगाएर स्पष्टीकरणसहित छलफलका लागि बोलाएका छौँ ।” “विशेष गरेर ग्रामीण क्षेत्रमा अखाद्य वस्तु बिक्री हुने गरेको सूचना आएपछि हामीले त्यस्ता पसललाई मध्यनजर गर्दै अनुगमन गरिरहेका छौँ, यसै क्रममा दावाको बलोटेमा ५०० बोरा बढी चामलमा उत्पादन मिति भेटिएन, सर्वसाधरणको स्वास्थ्यमा खेलवाड गर्ने त्यस्ता धेरै पसल छन्, त्यस्तालाई कारवाहीको दायरा ल्याउँछौँ, उहाँले भन्नुभयो ।” पछिल्लो समयमा लकडाउनको मौका छोप्दै उपभोक्ता ठग्ने प्रवृत्ति बढेसँगै प्रशासनले निगरानी बढाएको छ ।

यो अवधिमा सदरमुकामसँगै आसपासका क्षेत्रहरु सुन्तले, दावा बलौटेमा रहेका पसलबाट करिब रु ६५ हजार बराबरको अखाद्य सामग्री नष्ट गरिएको अनुगमन समितिले जनाएको छ । कानूनविपरीत अखाद्य वस्तु बिक्री गर्ने पसललाई कानूनी दायरा ल्याइने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले जनाएको छ । म्याद गुज्रिएको सामग्री बिक्री गरेमा रु ५० हजारसम्म जरिवाना र पाँच वर्षसम्म जेल हुनसक्ने कानुनी व्यवस्था रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका प्रमुख शिवशङ्कर मिश्रले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology